२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना, पर्यटकको औसत बसाइ तीन दिन बनाइने

सोमवार , पौष १५, २०८१

बन्दीपुर । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना हुने भएको छ । पर्यटन प्रबर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरिएको काठमाडौँमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

भ्रमण वर्षलाई भव्यताका साथ सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन भइसकेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको उनले जानकारी दिए ।

“प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुर्‍याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो”, अध्यक्ष थापाले भने ।

सचिवालय संयोजक पर्यटन वैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रबर्द्धन गरी पर्यटकको संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ । “भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएका छौँ”, उनले भने, “भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर पुर्‍याउने हाम्रो लक्ष्य छ ।”

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याइनेछ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ ।

यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्यको पहिचान, विकास र प्रबर्द्धन गरिनेछ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उनको भनाइ छ । “भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रबद्र्धन गरिनेछ भने विद्यमान पर्यटकीय केन्द्र र उपजहरुका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रबर्द्धन गरिनेछ”, उनले भने ।

भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिनेछ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रबर्द्धन हुने आफूहरुको अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।

भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै गाउँमै कमाऔँ गाउँमै रमाऔँ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाले लक्ष्य लिएको छ ।

भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट अपेक्षा गरिएको प्रतिवद्धतालाई समेत राखिएको छ । साथै नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट