बीबीसी । गत वर्ष सन् २०२४ मा क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख डलर कटिसकेको छ । कृत्रिम बैद्धिकता (एआई) टूलहरू हाम्रा गोजी तथा फोनहरूसम्म पुगिसक्दा भर्खरै सुरु भएको नयाँ वर्षले प्रविधिको क्षेत्रमा के दिन बाँकी छ ?
सन् २०२२ नजिकिँदै गर्दा क्रिप्टोकरेन्सी व्यवसायका लागि अवस्था निराशाजनक देखिन्थ्यो। यसका चिरपरिचित कम्पनीहरूमध्ये एक एफटीएक्स ग्राहकहरूको ८ अर्ब डलर डुब्यो।
ग्राहक तथा लगानीकर्ताहरूसँग ठगी गरेको आरोपमा सन् २०२४ को मार्चमा उक्त कम्पनीका सहसंस्थापक साम बैंकम्यान फ्रिडलाई २५ वर्षका लागि जेल सजाय पाए। यो काण्डले पूरै क्रिप्टोकरेन्सी क्षेत्रको आत्मविश्वास गिरायो।
क्रिप्टोकरेन्सी एउटा विशिष्ठ तर तुलनात्मक रूपमा सीमित मानिसहरूले पछ्याउने उत्पादनका रूपमा रहने छ भन्ने लाग्यो।
तर, त्यसको केही महिनापछि उक्त क्षेत्रमा फेरि आशा देखिन सुरु भयो। त्यस्तो उत्साह देखिनुको कारण हो नोभेम्बर ५ तारिखमा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा फेरि निर्वाचित हुनु ।
उनी क्रिप्टोकरेन्सीप्रति अझ बढी सकारात्मक हुनेछन् भन्ने सोच पाइयो र अहिलेसम्म त्यस्तै देखिएको छ।
डिसेम्बरको प्रारम्भतिर उनले सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशन (एसईसी) का भूतपूर्व आयुक्त पल एट्किन्सलाई वाल स्ट्रीटको निकायमको अध्यक्ष पदका लागि मनोनित गर्ने बताए।
उनी वर्तमान अध्यक्ष ग्यारी जेन्सलरको भन्दा बढी क्रिप्टोकरेन्सी समर्थक रहेको बताइएको छ।
त्यो घोषणाले क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा महँगो मानिएको बिटकोइनको मूल्य बढेर एक लाख डलरसम्म पुग्यो।
‘ट्रम्पले जितेसँगै सन् २०२५ मा तपाई क्रिप्टोकरेन्सीमाथि सक्रिय नियमन हुने अनुमान गर्न सक्नुहुन्छ। केही नकारात्मक नियमहरू अन्त्य भएको तपाईँले पाउनुहुने छ, जसले बैंक तथा अरू संस्थाहरूलाई ठाउँ दिने छ’ स्ट्यान्डर्ड चार्टर्डका डिजिटल एसेट्स अनुसन्धानसम्बन्धी विश्वव्यापी प्रमुख रिसर्च जेफ्री केन्ड्रिक भन्छन्।
खास गरी केन्ड्रिक एसईसीले जारी गरेको एसएबी १२१ भनिने निर्देशिकाको एउटा हिस्साबारे औँल्याउँछन्। सन् २०२२ मा यो निर्देशिका कार्यान्वयनमा आएदेखि क्रिप्टोकरेन्सी सेवाहरू उपलब्ध गराउन बैंक तथा अरू वित्तीय कम्पनीहरूलाई गाह्रो भयो।
अमेरिकालाई क्रिप्टोकरेन्सीको राजधानी बनाउने भनेर गत जुलाईमा गरेको वाचा पूरा गर्नका निम्ति यस्तो कदमले ट्रम्पलाई सघाउ पुर्याउन सक्ने देखिएको छ।
आफ्नो प्रतिबद्धताअनुसार ट्रम्प अगाडि बढे भने त्यो सन् २०२१ को भन्दा एउटा उल्लेख्य परिवर्तन हुने छ, जति बेला ट्रम्पले बिटक्वाइनलाई एउटा धोका भनेका थिए।
हाम्रा मोबाइल फोनहरूमा चल्ने एआई टूलुहरू एपल, गुगल र सामसङ सबैले सुरु गरेका छन्। यस्ता साधनको मद्दतले तस्बिर सम्पादन गर्न सकिन्छ, भाषा अनुवाद गर्न सकिन्छ र वेबमा खोजी गर्न सकिन्छ।
यस्ता साधन उपलब्ध भएसँगै हामी एउटा युगको प्रारम्भमा छौँ किनकि एआई हाम्रो डिजिटल जीवनको एउटा आधारभूत हिस्सा बन्न पुगेको छ र व्यक्तिगत स्तरमा निकै सहयोगी सिद्ध हुँदै गएको छ।
त्यो चाहिँ यदि हामीले अनुमति दिन्छौँ भने हुन्छ किनकि त्यसका लागि केही विश्वासको जरुरत हुन्छ।
डायरी व्यवस्थापनको एउटा उदाहरण लिऊँ। पहुँचका लागि तपाईँले अनुमति दिनुभयो भने एआई टूलले तपाईँको डायरी व्यवस्थापन गर्न सक्छ। तर यो कति परसम्म जानुपर्छ ?
साँच्चिकै उपयोगी हुनका निम्ति के त्यसले कोसँगको भेटघाट तपाईँले पन्छाउनुपर्छ अथवा कुनै सम्बन्ध कोबाट गोप्य राख्नुपर्छ भन्ने कुरा बताउन सक्छ ?
के तपाईँ परामर्श सत्रका लागि त्यसले सारांश तयार पारिदेओस् भन्ने चाहनुहुन्छ र उपचारका लागि चिकित्सकको समय लिइदेओस् भन्ने चाहनुहुन्छ ?
यो एकदमै व्यक्तिगत जानकारी हो र कुनै कारणले साझा हुन पुग्यो भने सम्भावित लज्जास्पद र अति महँगो पनि हो। के तपाईँ त्यस्ता डेटालाई लिएर ठूला प्रविधि कम्पनीहरूमाथि विश्वास गर्नुहुन्छ ?
माइक्रोसफ्टले यो मामिलामा निकै कडा मेहनत गरिरहेको छ।
उक्त कम्पनी सन् २०२४ मा रिकल नामक टूलको परीक्षणका कारण समस्यामा पर्यो । किनकि यसले हरेक केही सेकेन्डमा ल्यापटपको स्क्रीनको तस्बिर लिन्थ्यो ताकि उपयोगकर्ताहरूलाई आफूले देखेर पनि सम्झन नसकेका सामग्रीबारे पत्ता लगाउन सहयोग हुन सकोस्।
उसले आफ्ना उत्पादनमा अहिले कैयौँ फेरबदल गरेको छ। चुनौती हुँदाहुँदै प्रविधि अनुसन्धान कम्पनी सीसीएस इन्साइटका प्रमुख विश्लेषक बेन वूड सन् २०२५ मा थप व्यक्तिगत एआई सेवाहरू आउने अपेक्षा गर्छन्।
तर, एआईलाई तपाईँका व्यक्तिगत सूचना खुला छोड्नु ठूलो कदम हुने वूड स्वीकार्छन्। ‘विश्वास आवश्यक हुने छ’ उनी भन्छन्।
एआईमा जति धेरै पैसा खन्याइने छ, उति नै डेटा सेन्टरहरू बनाउनुपर्ने हुन्छ।
एआईको प्रशिक्षण र सञ्चालनका लागि धेरै कम्प्युटिङ पावर चाहिने छ र सबैभन्दा पछिल्लो कम्प्युटर चिप्स अनि सर्भर भए त्यसले राम्रो काम गर्छ।
सीसीएस इन्साइटका अनुसार गुगल, माइक्रोसफ्ट र मेटासहितका ठूल्ठूला डेटा प्रयोगकर्ताहरूले आगामी पाँच वर्षमा डेटा सेन्टरमा एक ट्रिलिअन डलरभन्दा बढी लगानी गर्न सक्छन्।
प्रोपर्टी सर्भिसेस कम्पनी सेभिल्सका अनुसार युरोपमा मात्रै सन् २०२४ देखि २०२८ सम्ममा डेटा सेन्टरको क्षमतामा वार्षिक औसतमा नौ प्रतिशतले वृद्धि हुने छ।
तर ती डेटा सेन्टरहरू हाल डेटा सेन्टरका केन्द्र रहेका लन्डन, फ्रयाँकफर्ट र एम्स्टर्ड्याममा नहुन सक्छन्।
सेभिल्सका अनुसार लन्डनमा प्रतिएकड जग्गाको भाउ एक करोड ७० करोड लाख पाउन्डसम्म हुन सक्छ। त्यसका साथै बिजुली आपूर्तिमा निकै कडिकडाउ हुन सक्छ, जसको अर्थ निर्माणकर्ताहरूले अरू ठाउँ हेर्न सक्छन्।
यूकेका केम्ब्रिज, म्यान्चेस्टर र बर्मिघम सहरहरू डेटा सेन्टर निर्माणका लागि अर्को चरणका स्थान हुन सक्छन्।
सन् २०२४ को मार्चमा सार्वजनिक भएको ब्ल्याक चिप सन् २०२५ मा उल्लेख्य सङ्ख्यामा बजारमा आउने अपेक्षा गरिएको छ।
बैंक अफ अमेरिका सेक्युरिटिजस्थित वरिष्ठ सेमिकन्डक्टर विश्लेषक विवेक आर्याका अनुसार नयाँ चिप्सले प्रविधि कम्पनीहरूलाई एआईलाई चार गुना बढीले द्रुत रूपमा प्रशिक्षित गर्ने र एआईलाई हालका कम्प्युटर चिप्सका तुलनामा ३० गुना बढी द्रुत गतिले सञ्चालन गर्न दिने छन्।
तर सन् २०२५ मा आपूर्तिसम्बन्धी सीमितताका कारण अरू ग्राहकहरूले ती सुपर चिपहरू पाउन मुश्किल हुने आर्या बताउँछन्।