काठमाडौं । केही वर्षयता मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा छ । अर्थतन्त्र शिथिल हुँदा बजारमा माग पक्ष कमजोर भएको छ । यसको प्रत्यक्ष असर उद्योग व्यवसायमा परेको छ ।
आर्थिक गतिविधी सुस्त हुँदा सिमेन्ट व्यवसाय पनि खुम्चिएको छ । अधिकांश सिमेन्ट उद्योग बाँच्नलाई संघर्ष गरिरहेका बेला व्यवसायी विनोद चौधरी र अनिलकुमार रुँगटा भने सम्राट सिमेन्ट कम्पनीको क्षमता विस्तारमा लागेका छन् ।
सम्राटले सिमेन्ट उत्पादन क्षमता बढाएर दैनिक ४ हजार ५ सय टन पुर्याउन १५ अर्ब लगानी थप्दै छ । सम्राट सिमेन्टको दैनिक सिमेन्ट उत्पादन क्षमता २७ सय टन छ । क्षमता बढाउने परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
एमओयूमा सम्राट सिमेन्टका अध्यक्ष अनिलकुमार रुँगटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
सिमेन्ट व्यवसाय खस्किए पनि भविष्यको बजार हेरेर क्षमता विस्तारमा लागेको सम्राटका अध्यक्ष रुँगटा बताउँछन् । सुनौलो नेपालसँग कुरा गर्दै उनले उद्योगको क्षमता विस्तारको विकल्प नभएको जानकारी दिए । क्षमता विस्तार छिट्टै सक्ने तयारी उनको छ । एमओयूअनुसार सम्राट सिमेन्टले क्षमता विस्तारको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेपछि लगानी बोर्ड र सम्राटबीच परियोजना लगानी सम्झौता (पिआइए) हुने छ ।
२०७७ असारमा बसेको लगानी बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्टको उत्पादन क्षमता विस्तार परियोजनाका लागि १५ अर्ब पाँच करोड रुपैयाँ लगानी स्वीकृति गरेको थियो । छ अर्बभन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्थाअनुसार यो कम्पनी बोर्डमा आएको हो ।
सम्राटले सिमेन्ट उत्पादन क्षमता दोब्बर बढाएर दैनिक ३ हजार ६ सय टन पुर्याएको छ । नयाँ प्लान्ट सन् २०२२ जुलाइदेखि सञ्चालनमा आएको छ । यस्तै क्लिङकरको पनि क्षमता बढाएर दैनिक ४ हजार टन पुगेको छ । नयाँ प्लान्ट सन् २०२१ जनवरीदेखि सञ्चालनमा आएको हो ।
२०७४ सालमा स्थापना भएको सम्राट मुलुकको ठूलो सिमेन्ट उद्योगभित्र पर्छ । सम्राट सिमेन्टमा जर्मनी प्रविधिको प्रयोग गरिएको छ । उद्योगले अहिले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिरहेको छ ।
उद्योगले गजराज र गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादसाह र सम्राटलगायत सात ब्रान्डको सिमेन्ट उत्पादन गरिरहेको छ । करिब ४५ बिघा क्षेत्रफलमा सञ्चालनमा रहेको छ । खानी उद्योग भन्दा ५० किलोमिटर दुरीमा छ ।
उद्योग सन् २०१३ मा स्थापना भएको हो । सम्राटको अध्यक्ष रुंगटा हुन भने चौधरी ग्रुपबाट निर्वाण र वरुण चौधरी सञ्चालक छन् ।
मुलुकमा ५५ सिमेन्ट र २० वटा क्लिङकर उत्पादन गर्ने लगायत ७५ उद्योग सञ्चालनमा छन् । उद्योगहरुको संख्या बढ्दै गएपछि बजारमा प्रतिस्पर्धा कडा भइरहेको छ ।
यसअघि सम्राटलाई मुलुककै ठूलो सिमेन्ट उद्योग बनाउने रणनीतिसहित उद्योगपति चौधरीको प्रवेश भएको हो । चौधरीले सम्राटको ३० प्रतिशत स्वामित्व ३ अर्ब रुपैयाँमा खरिद गरेको हो । चौधरीले मुकुन्दप्रसाद तिमल्सिनाको सबै सेयर किनेका हुन् । तिमल्सिनाले कर्णाली प्रदेशको सुर्खेतमा सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउदै छन् ।
चौधरीको लगानीको सीजी सिमेन्ट व्यावसायिक रुपमा सिमेन्ट उत्पादन गरिरहेको छ । सीजी सिमेन्ट उद्योगमा क्लोज्ड सर्किट विथ सेन्ट्रलाइज्ड कन्ट्रोल रुम (सीआरआर) मोनिटरिङ प्रविधिमा जडान छ । यसका अलवा चौधरी ग्रुपले पाल्पामा खानीसहित उद्योग स्थापना गरिसकेको छ ।
यो पनि :
चौधरी ग्रुपको सम्राट सिमेन्टको घाटा ४३ करोड, ऋण साढे १२ अर्ब