काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा व्यापार पारवहन सम्झौतामा रहेका जटिलतालाई समाधान गरिने बताएका छन् ।
सोमबार नेपाल निर्यात परिषदको २७ औँ वार्षिक साधारणसभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक यही पुस २५ र २६ गते काठमाडौंमा हुने तय भएको छ । उनले बैठकमा नेपाल र भारतका बीचमा व्यापार पारवहनमा रहेका जटिलता र समस्या समाधान गर्नेगरी छलफल गर्ने बताए ।
उनले भारतसँगको व्यापारमा गुणस्तर प्रमाणपत्रमा देखिएको समस्या नेपाल सरकारले समाधान चाहेको बताए । उनले नेपाल र भारतबीचको व्यापारका क्षेत्रमा आएका समस्याहरुका विषयमा बैठकमा खुला रुपमा छलफल हुने जानकारी दिए ।
उनले नेपाल र भारतबीचमा ल्याण्डलकका समस्या र नेपालले प्राप्त गर्नुपर्ने समुन्द्रिक सतह र सुख्खा बन्दरगाहमा तेस्रो मुलुकमा निर्यात गर्दा पाउने अधिकारका विषयमा पनि छलफल हुने बताए । उनले नेपालमा उत्पादित कृषिजन्य उत्पादनहरु अलैंची,जुट, चिया र अदुवा जस्ता वस्तु निर्यातमा रहेका समस्या समाधानका विषयमा पनि छलफल गरिने बताए ।
उनले भारतसँगको व्यापार आयात र निर्यातको विषयमा नयाँ चरणबाट अघि बढ्ने बताए । उनले नेपाल र भारत सरकारबीच व्यापार पारवहन सम्झौतामा रहेका जटिलतालाई उच्चस्तरमा समाधान गर्ने तयारी रहेको बताए ।
उनले सरकारले निर्यात प्रवद्र्धनको लागि कोशिस गरिरहेको बताए । उनले चीनमा रातो मासु निर्यातको लागि सम्झौता गरिसकेकाले त्यसको सदुपयोग निजी क्षेत्रले गर्न आवश्यक रहेको बताए । उनले नेपालमा उत्पादित वस्तुहरुको कच्चा पदार्थ निर्यात प्याकेजिङ र ब्राण्डिङ गरेर गर्न आवश्यक रहेको बताए ।
उनले नेपालको निजी क्षेत्रले निर्यात भइरहेको चियालाई प्याकेजिङ र ब्राण्डिङ गर्न नसकेको बताए । उनले अदुवा,चिया अलैँची निर्यात गरिरहेका वस्तुको प्याकेजिङ र ब्राण्डिङ गर्न नसकेका कारणले निर्यात व्यापार सुस्ताएको बताए ।
उनले नेपालको उच्च गुणस्तरको कफी निर्यात पनि बोरामा राखेर निर्यात गर्ने गरेको भन्दै प्याकेजिङ र ब्राण्डिङ गर्न आवश्यक रहेको बताए ।
मन्त्री भण्डारीले नेपाली बजारमा पर्याप्त विदेशी मुद्रा भित्र्याउने गरी सरकारले तयारी गरिरहेको बताए । उनले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु बनाइरहेको बताए । उनले लगानीको मुनाफा सुनिश्चित गर्न नीतिगत सुधारमा सरकार लागिपरेको बताए ।
मन्त्री भण्डारीले नेपालको उत्पादन अन्यत्र निर्यातका निजीक्षेत्रले उत्पादनमा जोड दिनुपर्ने बताए । सरकार र निजी क्षेत्रले नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।