logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • ऊर्जा विकास मार्गचित्र : १० वर्षमा १५ हजार मेगावाट बिजुली भारत र बंगलादेश निर्यात गर्ने लक्ष्य

    ऊर्जा विकास मार्गचित्र : १० वर्षमा १५ हजार मेगावाट बिजुली भारत र बंगलादेश निर्यात गर्ने लक्ष्य

    175
    Shares
    ऊर्जा विकास मार्गचित्र : १० वर्षमा १५ हजार मेगावाट बिजुली भारत र बंगलादेश निर्यात गर्ने लक्ष्य

    काठमाडौं । आगामी एक दशकमा नेपालले १५ हजार मेगावाट बिजुली भारत र बंगलादेशमा निर्यात गर्ने महत्वकाँक्षी लक्ष्य लिएको छ । २०८२ देखि २०९२ (सन् २०३५) सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गरी सो परिमाण ऊर्जा भारत र तेस्रो मुलुक बंगलादेशसम्म निर्यात गर्ने लक्ष्य ऊर्जा विकास मार्गचित्रले लिएको हो । १३ हजार ५ सय मेगावाट बिजुली आन्तरिक खपतमा उपयोग हुने प्रक्षेपण मार्गचित्रको छ ।

    नेपालले भारतमा १ हजार र बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिसकेको छ । आगामी वर्ष निर्यात बढ्दै जाने आधारमा ऊर्जा विकास मार्गचित्रले यस्तो देखाएको हो । भारतमा १० हजार र बंगलादेश र चीनमा गरि कूल ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य सरकारको छ ।

    विद्युत निर्यात गर्न अन्तरदेशिय विद्युत व्यापारसम्बन्धि बजार डिजाइन गरि आवश्यक नीतिगत र कानुनी व्यवस्था मिलाइने मार्गचित्रमा उल्लेख गरिएको छ । विद्युत व्यापारका लागि समयसीमाबद्ध आवश्यक पूर्वाधार तयार पार्ने र बिजुली व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन कानुनी व्यवस्था गरिने मार्गचित्रमा उल्लेख छ । नयाँ विद्युत ऐन ल्याउने, ऊर्जा सुरक्षा रणनीति बनाउने र जलविद्युत आयोजनामा जग्गा प्राप्तिमा हदबन्दी लागू नहुने व्यवस्था हुन लागेको हो ।

    २०८०/८१ मा ७०० मेगावाट बिजुली भारतमा निर्यात भए पनि चालू आर्थिक वर्षमा १ हजार मेगावाटसम्म निर्यात भएको छ । माथिल्लो तामाकोसी आयोजना पहिरोले क्षतिग्रस्त बनाएका कारण यो वर्ष भने निर्यात केही घटेको छ । आर्थिक वर्ष ०८५०/८६ मा ४ हजार मेगावाट र २०९१/९२ सम्ममा १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य रहेको छ ।

    जलासय आयोजनाबाट ५ हजार ९ सय मेगावाट, अर्धजलासय आयोजनाबाट १० हजार ५ सय मेगावाट र बाँकी नदी प्रवाही आयोजनाबाट उत्पादन हुने बिजुली निर्यात गर्ने लक्ष्य मार्चचित्रमा छ । यसमध्ये ५ देखि १० प्रतिशतसम्म सौर्य र ग्रिन ऊर्जालगायत वैकल्पिक स्रोतको परिचालन गरिने भएको छ । नेपाल र भारतबीच सन् २०१४ मा विद्युत व्यापार सम्झौता भएको हो ।

    नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौतामा आधारित रहेर इनर्जी एक्सचेन्जको डे अहेड मार्केटबाट २०२१ को सुक्खायामदेखि भारतमा बिजुली आयात गर्न थालेको हो । २०२२ देखि वर्खामा बढी भएको बिजुली भारतमा निर्यात गर्न लागेको हो । पहिलो चरणमा ४ सय मेगावाट निर्यात सुरु भएको थियो । गत वर्ष नेपाल र भारतबीच दीर्घकालिन विद्युत व्यापार सम्झौता भएको थियो । १० वर्षमा १० हजार मेगावाटलाई बजार सुनिश्चित भएको छ । यस्तै थप ५ हजार मेगावाटलाई पनि सुनिश्चित हुने अवस्थामा पुगेको छ ।

    १५ हजार मेगावाट बिजुली निर्यात गरेर नेपाल विद्युत प्राधिकरणले वार्षिक १५ खर्ब रुपैयाँ बढी आम्दानी हुने अनुमान गरिएको छ । यद्यपि निर्यातका बेलामा हुने बिजुलीको मूल्यले आम्दानीमा प्रभाव पार्ने छ ।
    गत आर्थिक वर्ष २०८०/०८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट बिजुली भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

    विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लिमिटेड (एनभिभिएन) लाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको बिजुली औसत दर प्रतियुनिट ८.७२ रुपैयाँ छ ।

    प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत भारतबाट आयात गरेको छ । सुक्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरुबाट उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको बिजुलीको औसत दर प्रति युनिट ९.१७ रुपैयाँ छ । गत आवमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँ बढी बिजुली भारततर्फ निर्यात भएको थियो ।

    यो पनि :

    १७ अर्ब बिजुली भारतमा बिक्री, नेपाल बन्यो खुद निर्यातकर्ता


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend