२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मुद्रास्फीतिले वाञ्छित सीमा नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई पाँच दशमलव पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ । गत मङ्सिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति नौ दशमलव ९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः पाँच प्रतिशत र चार दशमलव ९२ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३ दशमलव ०५ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ७० प्रतिशत र घ्यू तथा तेलको नौ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ८३ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको सात दशमलव ०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।

गत मङ्सिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क छ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३६, मधेश प्रदेशको छ दशमलव ७७, बागमती प्रदेशको पाँच दशमलव ८४, गण्डकी प्रदेशको चार दशमलव ८१, लुम्बिनी प्रदेशको पाँच दशमलव ५३, कर्णाली प्रदेशको चार दशमलव १९ र सुदूरपश्चिम प्रदेशको छ दशमलव ६६ प्रतिशत रहेको छ ।

यस अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ८२, तराईको छ दशमलव ३१, पहाडको पाँच दशमलव ६५ र हिमालको छ दशमलव ५८ प्रतिशत रहेको छ । गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति छ दशमलव ५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति दुइ दशमलव ६३ प्रतिशत रहेको थियो । यो अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति चार दशमलव १४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट