काठमाडौं । पर्यटन व्यवसायीहरुको लगानीमा काभ्रेको नमोबुद्धमा बोधी रिसोर्ट निर्माण भइरहेको छ । रिसोर्ट आउँदो असार (सन् २०२५ को जुलाइ १५) भित्र व्यवसायिक सञ्चालनमा ल्याउने तयारी भएको बोधी रिसोर्ट प्रालिले जनाएको छ ।
बोधी रिसोर्टको निर्माण २०२२ फेब्रुअरीदेखि सुरु भएको हो । रिसोर्टको स्थापना सन् २०१८ मा भएको हो । रिसोर्टको अनुमान गरिएको भन्दा २७ करोड रुपैयाँ लागत बढेको छ ।
यसअघि ६३ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिकोमा अहिले बढेर ९० करोड ६० लाख रुपैयाँ पुगेको बोधीले जनाएको छ । रिसोर्टको संरचनात्मक परिवर्तनहरूले गर्दा लागत बढेको बोधीले स्पष्ट पारेको छ ।
रिसोर्टमा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) लगानी रहेको छ । बोधीले ६४ करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । होटल ‘बोधी रिसोर्ट नेपाल’ ब्राण्डमा सञ्चालन हुने भएको छ ।
होटल परियोजना १० डिलक्स भिल्ला, एक प्रेसिडेसियल भिल्ला र एक आर्टिस्ट भिल्लासहित १५ कोठा रहने भएको छ । बोधी रिसोर्ट राजधानी काठमाडौंबाट ४० किलोमिटर दक्षिण पूर्वको नमोबुद्धमा रहेको छ ।
रिसोर्टमा बस्ने अतिथिहरूले धेरै नजिकबाट हिमाल हेरेर आनन्द लिन सक्छन् । उल्लेखनीय आकर्षण स्थल, कलात्मक गुम्बा र मूर्तिमा आगन्तुकहरू आकर्षित हुन्छन् । पहाडको वरिपरि स्थित टाइग्रेस सूर्योदय र सूर्यास्त हेर्नका लागि नमोबुद्ध प्रसिद्ध छ । नेपालको १३ हिमाली श्रङखलामध्ये ८ को फराकिलो दृश्य नमोबुद्धबाट सजिलै हेर्न सकिन्छ ।
धुलिखेल, पनौती, बल्थली र दाप्चा जस्ता विभिन्न पर्यटकीय गन्तव्यबाट आउने अपेक्षा गरिएको छ । रिसोर्ट व्यवस्थापनमा चार जना सञ्चालक रहेका छन् । कम्पनीको अध्यक्षमा कल्सङ पल्जोर शेर्पा रहेका छन् । उनको रिसोर्टमा २५ प्रतिशत स्वामित्व रहेको छ । शेर्पा पर्यटन व्यवसायी हुन् ।