काठमाडौँ । ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर) ले होटल बाराही काठमाडौँलाई ‘इको फुटप्रिन्ट’ प्रमाणपत्र प्रदान गरेको छ ।
पर्यावरणीय सन्तुलन कायम गर्दै दिगो विकासमा असल अभ्यास तथा सामाजिक पक्षलाई प्रभावकारी रुपमा समावेश गरेको उल्लेख गर्दै बाराही काठमाडौँलाई उक्त प्रमाणपत्र उपलब्ध गराइएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
विभिन्न मापदण्डमा आधारित भई गरिएको मूल्याङ्कपछि होटलले उक्त प्रमाणपत्र प्राप्त गरेको बाराही होटलका महाप्रबन्धक रोशन सापकोटाले बताए । उनका अनुसार टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगष्टसम्मका लागि ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रुपमा होटललाई उक्त प्रमाणपत्र प्रदान गरेको हो ।
टफ्ट टाइगरले इको फुटप्रिन्ट रेटिङमा चार वटा मापदण्ड समावेश गरेको थियो । रेटिङमा होटलको वातावरणीय प्रभावलाई माध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्डअनुरुप नै भएको उल्लेख गरेको छ ।
होटलका कर्पोरेट निर्देशक योगेन्द्र विक्रम थापाले बाराही होटल दिगो विकासमा सधैँ चिन्तित रहेको र संस्थापकसहित सम्पूर्ण कर्मचारी तथा सरोकारवालाको मेहनत र साथले यो उपलब्धि हासिल भएको बताए ।
कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले बाराही होटलको उदाहरणीय अभ्यासलाई सिङ्गो होटल तथा रेष्टुरेन्ट व्यवसाय र समग्र पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले होटलहरुले मूल्यको प्रतिस्पर्धाबाट बाहिर निस्किएर गुणस्तरमा केन्द्रित हुँदै पर्यटक भित्र्याउन बाराहीले जस्तै प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाल ट्राभल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) महासचिव युविका भण्डारीले दिगो विकासलाई प्राथमिकतामा राख्दै होटल निर्माण र सञ्चालन सामान्य विषय नभएको उल्लेख गर्दै यसप्रकारको अभ्यास सामान्य जीवनयापनमा लागू गर्न सबै जना सचेत हुनुपर्नेमा जोड दिइन् ।
होटल सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले होटल बाराही काठमाडौँले दिगो विकासमा दिएको योगदानमा खुसी व्यक्त गर्दै सरकारले पनि यस्ता प्रमाणीकरणका लागि मापदण्ड बनाउन पर्यटन विभागमा पहल गर्ने बताए ।
स्कल नेपालका अध्यक्ष महेन्द्र पौडेलले बाराही होटलको यो प्रयासलाई पर्यटकले लामो समयसम्म सम्झिरहने विश्वास व्यक्त गरे ।
टफ्ट टाइगरको चार मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत वातावरणीय सचेतता, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानूनको पालना र तालिमलगायतमा होटलले गरेको गतिविधिलाई आधार मानेको थियो ।
पानीको संरक्षण, सदुपयोग, फोहर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षा मापदण्डका साथै आर्थिक अभ्यासअन्तर्गत होटलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, स्थानीय सीप र खानाको प्रवद्र्धन रहेको छ । साथै सामाजिक–सांस्कृतिक प्रभावअन्तर्गत होटलले संस्थागत सामाजिक उत्तरदायित्व र स्थानीय शिल्प कौशल र सीपको प्रवद्र्धन गरेको सहयोगलाई आधार बनाइएको थियो ।
मूल्याङ्कनका क्रममा फोहर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानुनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रवद्र्धन, अपाङ्गता भएका व्यक्तिहरुको सहजता र होटलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान, मन्दिरसरसफाइ शैक्षिक सामग्रीलगायतको सहयोगलाई पनि उक्त मूल्याङ्कनमा समावेश गरिएको संस्थाले विप्तिमार्फत जनाएको छ ।
बाराही हस्पिटालिटीअन्तर्गत रहेको होटल बाराही काठमाडौँ सन् २०२३ जुलाइदेखि सञ्चालनमा आएको हो । बाराही काठमाडौँ होटलले हालै ‘साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४’ बाट नयाँ होटलका रुपमा दक्षिण एशियामा सर्वोत्कृष्ट प्राप्त गरेको छ ।
साथै नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षाको मापदण्डअनुसार ‘ए’ श्रेणी प्राप्त गरेको छ ।