२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

आइतवार , माघ ६, २०८१

झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको हो ।

हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा रु १० अर्ब १३ करोड बराबरको ठेक्का लागेको थियो । जसमा ७८ प्रतिशत वित्तीय प्रगति भएको उनले बताए ।

झापादेखि धरानसम्मको पूर्वी खण्डले झापा, इलाम, मोरङ र सुनसरी जिल्लालाई समेटेको छ । जसमध्ये ४१ दशमलव ६८ किमी सडक कालोपत्र भइसकेको छ । झापामा १ दशमलव ९२ किमी, मोरङमा २० दशमलव ६५ किमी, इलाममा दुई दशमलव तीन किमी र सुनसरीमा पाँच दशमलव ८१ किमी सडक कालोपत्र भएको हो ।

सडकतर्फ सात वटा ठेक्का व्यवस्थापन भएकामा एउटा ठेक्काको सडक निर्माण सम्पन्न भइसकेको छ भने छ वटा सडक काम अन्तिम चरणमा पुगेको जनाइएको छ । विगतका वर्षमा ३१ दशमलव ६८ किमी सडक कालोपत्र भएको थियो भने चालु आवमा १० किमी सडक कालोपत्र भइसकेको छ ।

मदन भण्डारी राजमार्गको निर्माणका लागि सङ्घीय सरकारले चालु आवमा रु ९१ करोड बजेट विनियोजन भएकामा रु ३५ करोड ९६ लाख खर्च भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

चालु आवमा १५ किमी थप सडक निर्माण गर्ने लक्ष्य रहेकामा १० दशमलव ६७ किमी सडक निर्माण भइसकेको कार्यालयका सूचना अधिकारी दत्तले जानकारी दिए । उनका अनुसार चालु आवमा सडक निर्माणमा ६७ प्रतिशत लक्ष्य हासिल भइसकेको छ ।

पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कूल लम्बाई एक हजार दुई सय किलोमिटर छ । धरानदेखि हेटौँडासम्मको तीन सय किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा पनि हाल काम भइरहेको छ ।

“वन क्षेत्रसँग सम्बिन्धत समस्याबाहेक यो खण्डमा निर्माण तीव्र गतिमा भइरहेको छ”, सूचना अधिकारी दत्तले भने, “वन क्षेत्रमा परेको सडकमा भोगाधिकारका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको हुँदा अब रुख कटानलगायतका काम छिटै सम्पन्न हुनेछन् ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट