काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शुक्रबार काठमाडौंमा बृहत्त जनप्रदर्शन गर्ने भएको छ । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले शुक्रबार हुने आन्दोलन शान्तिपूर्ण हुने बताएको छ ।
शुक्रबार काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेदेखि र्याली निकाल्ने तयारी भएको उसले जनाएको छ । स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा विभिन्न स्थानबाट सुुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि पार्टी अध्यक्ष प्रचण्डले ‘शाहकारी आन्दोलन’ले नपुग्ने भन्दै अब आन्दोलन आक्रोशपूर्ण हुनुपर्ने बताएका थिए । यसैलाई आधार बनाएर केहि सञ्चार माध्यममा आन्दोलन हिंसात्मक हुनसक्ने बताएका थिए । तर संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर गरिने सो प्रदर्शन पूर्णतयः शान्तिपूर्ण हुने उक्त पार्टीको केन्द्रीय सङ्घर्ष समितले जनाएको छ ।
जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड–नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । मूल जुलुसपछिको विरोध–सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । यसअघि प्रचण्ड–नेपाल समूहले १४ पुसमा त्यही स्थानमा बृहत् विरोध–सभा आयोजना गरेको थियो ।