काठमाडौं । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
६ महिनापछि बसेको अधिवेशनको पहिलो दिन बुधबार दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । तर, बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिको दबाबपछि सभामुख श्रेष्ठले बैठक बोलाउने निर्णय गरेका हुन् ।
सभामुख श्रेष्ठले मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग छलफल गरी आज बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
नेकपा विभाजनको असर बागमती प्रदेशमा पनि परेको छ । प्रचण्ड-नेपाल पक्षका ४५ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध हस्ताक्षरसहित १० पुसमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।