२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पश्मिना उद्योग नेपालको पहिचान हो : उद्योगमन्त्री भण्डारी

बिहिवार , माघ १०, २०८१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताएका छन् ।

नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उनले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको बताएका छन् ।

“नेपाली पश्मिनाको यति राम्रो बजार छ, सीप पनि छ, विश्व बजारमा चिनाइएको पनि छ, विश्व बजारभन्दा पहिला नेपालमा चिनाउन नसक्नु चिन्ताको विषय हो, युरोप, अमेरिका, जापानलगायत देशमा बजार बनाएको पश्मिनाको थप बजार सुदृढ गर्न कच्चा पदार्थ उपलब्ध गराउने चुनौती र नीतिगत सुधार गर्नुपर्ने खाँचो छ, यसमा सरकार सुधारका काममा जुटेको छ”, मन्त्री भण्डारीले भने ।

नेपालको धर्मराएको उद्योग क्षेत्रलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उनले सरकारले उद्योग तथा वाणिज्य र निर्यातका क्षेत्रमा बाधक देखिएका कानुनमा सुधारका काम धमाधम अगाडि बढाइसकेको बताए ।

छिट्टै वाणिज्य नीतिको समयसापेक्ष सुधारका लागि आगामी संसद्मा पेश गरिने जानकारी दिँदै उहाँले साना तथा लघुउद्यमीलाई प्रोत्साहित गर्न नीतिगत व्यवस्थाका साथै एउटा छुट्टै कोषको व्यवस्था सरकारले गरिरहेको बताए ।

मन्त्री भण्डारीले भने, “नेपालको व्यापार र निर्यात कसरी वृद्धि गर्न सकिन्छ भन्नेमा सरकार गम्भिर छ, आर्थिक वृद्धि हासिल गर्न नेपाली वस्तुको बजार विस्तारको रणनीति अपनाउनु जरुरी छ, नेपाली वस्तुको प्रयोग गर्ने कुरालाई राष्ट्रिय अभियानका रुपमा अगाडि बढाउनु पनि जरुरी छ ।”

उनले नेपालको पूँजी बजार र अर्थतन्त्रमा आएको निराशा चिर्न तथा व्यावसायिक सुधारका लागि सरकारले अध्यादेश ल्याएको समेत स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाली उत्पादनको गुणस्तरमा कुनै कमी नरहेको उल्लेख गर्दै नेपाली वस्तुको स्वदेश तथा विदेशमा बजारीकरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो रहेको औँल्याए ।

नेपाली उत्पादनको प्रवद्र्धनमा महासङ्घले पनि आवश्यक सहयोग तथा सहकार्य अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

सो उद्घाटन समारोहमा नेपालका लागि युरोपियन यूनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाल, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रविन्द्र शाक्य, नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष शङ्करप्रसाद पाण्डे, पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेलगायतले पश्मिना निर्यातमा देखिएका समस्या समाधान तथा व्यापार विस्तारका विषयमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट