बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

निजी क्षेत्रमाथिको निरन्तर प्रहारले जर्जर बन्दैछ देश

निजी क्षेत्रमाथिको निरन्तर प्रहारले जर्जर बन्दैछ देश

काठमाडौं । मुलुकको अर्थतन्त्रको इन्जिन निजी क्षेत्रमाथि पछिल्ला केही वर्षयता श्रृङखलावद्ध रुपमा प्रहार भइरहेका छन् । समय समयमा भइरहने श्रृङखलावद्ध प्रहारले मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिँदै आएको निजी क्षेत्र अहिले हत्तोसाहित बनेको मात्र छैन थप लगानी गर्न हच्किएको अवस्था छ । निजी क्षेत्रले मुलुकमा आयात प्रतिस्थापन, लगानी अभिवृद्धि, रोजगारी सिर्जना र राजस्वमा महत्वपूर्ण योगदान दिइरहेको छ । तर, पनि व्यवसायिमाथि विभिन्न आरोप लगाएर धरपकड गर्ने, आयोजना बनाउन अवरोध गर्ने कार्यले अहिले निजी क्षेत्रले असुरक्षा महशुस गरिरहेको छ । अहिले निजी क्षेत्रलाई दानवीकरण गरेर सिध्याउने षडयन्त्र भइरहेको व्यसायीहरुको भनाई छ ।

नेपाल राष्ट्र बैंकको तथ्याँकलाई हेर्दा निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार हुन सकेको छैन् । त्यो विश्वास नभएर कर्जाको माग नभएको हो । अहिले केबुलकार र जलविद्युतमा मात्र लगानी भएको छ । यसैको घानमा अहिले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल परेका छन् । उनले ३ अर्ब रुपैयाँ बढी लगानी गरेर पाथिभरामा केबुलकार परियोजना बनाउन सुरु गरेका छन् । पाथिभरामा बनाउन लागेको केबुलकार परियोजना रोक्न धर्म र संस्कृतिको नाममा ताप्लेजुङका केही पहिचानवादी लागेका छन् । यही माघ ८ गतेदेखि केबुलकार संरचना बनाउन काम सुरु भएपछि पहिचानवादीहरु ‘नो केबुलकार’ भन्दै आन्दोलनमा उत्रिएका थिए ।

उनीहरुको तारो केबुलकार मात्र नभइ ग्लोबल आइएमई बैंक पनि भएको छ । अहिले कोशी प्रदेशमा ग्लोबल आइएमई बैंकमा खाता नखोल्न र बैंकबाट पैसा निकाल्न उर्दी जारी गरिएको छ । बैंक डुब्यो भनेर गलत हल्ला गरिएको छ । जबकि, बैंकमा ढकाल मात्र नभइ सर्वसाधारणको ठूलो लगानी छ । यसैगरी नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पाथिभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आइएमई बैंकमाथि प्रहार गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन् ‘कसैको उक्साहटमा त्यस्ता उश्रृङखल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’

यद्यपि, पाथिभरामा केबुलकार निर्माणका विषयमा विवाद समधानका लागि सहमति भएको छ । मंगलबार राति अबेरसम्म गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो । सहमतिमा पाथीभरा केबुलकारको स्टेसनमाथिको निर्माण कार्य तत्काल स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल हुने भएको छ ।

केबुलकार परियोजना रोक्न आन्दोलन सुरु भएपछि निजी क्षेत्रका तीनवटा छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त विज्ञप्ति जारी गरि केबुलकारको विषयलाई लिएर भइरहेको गतिविधिले देशको पूर्वाधारमा लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुने प्रतिक्रिया दिएका छन् ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले विकास रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथिभरा मक्कुम्लुङमा बन्ने पर्यटकीय पूर्वाधारले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने भएकाले निर्माणमा अवरोध गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

सधैँ गरिब बनाइरहने अनि आफ्नो उत्पादनको व्यापार गरिरहने छिमेकीको कुनियतलाई बढावा दिदैँ आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न चाहने समूहहरुको रजगज रहेसम्म यो देशमा निजी क्षेत्रले जति सुकै लगानी गरे पनि हामी देशका लागि सौतेनी आमाको सन्तान सरह बाँचिरहनु पर्ने अवस्था देखिएको छ । यसरी एउटा निजी क्षेत्रले लगानी गर्छ विभिन्न बाहानामा त्यही निजी क्षेत्रलाई मास्न र सिद्धयाउन खोजिने गरेको पाथिभरा घटनाबाट झनै छर्र्लङ भएको छ । ‘स्थानीय तह र स्थानीय बासिन्दाहरु केबुलकार बन्नुपर्छ भन्ने पक्षमा छन् । केबुलकार बन्न दिनु हुँदैन भनेर बाह्य हस्तक्षेपसहित निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा लिएको छ’ उनले सुनौलो नेपालसँग भने ।

पाथिभरामा केबुलकार बन्नुपर्नेमा व्यवसायी तथा आर्थिक विश्लेषक अरुणकुमार सुवेदीको जोड रहेको छ । ‘चन्द्र ढकालजीले स्थानीय व्यवस्थापनको काम नगरेको जस्तो देखियो, स्थानीयको व्यवस्थापन गर्नासाथ केबुलकारको काम अघि बढ्नेछ’ उनले भने । नेपाली समाज नै भ्रष्ट भएकाले लगानीकर्ताले बारम्बार दुःख पाइरहेको, भ्रष्ट र पतित मान्छेले बहकाउँदा लगानीकर्ताले पटक पटक दुःख पाउनु परेको सुवेदीको भनाई छ ।

पाथिभरा केबुलकार बनाउने योजनाबाट ढकाललाई पछि हटाउन योजनावद्ध रुपमा केही समूह लागेको देखिएको छ । पाथिभराबाट हटाउना साथ अन्य स्थानमा पनि अवरोध गरेर नेपालमा थप केबुलकार बनाउन नदिने नीति केही स्वार्थ समूहको योजना रहेको छ ।

सोही जिल्लाका सांसद योगेश भट्टराईले गत बुधबार पत्रकार सम्मेलन नै गरेर पाथिभरा केबुलकार निर्माण आवश्यक भएको बताएका छन् । ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट कानूनी प्रक्रिया पूरा गरेर पाथिभरा देवी मुकुम्लुङ केबुलकारले निर्माण सुरु गरेको हो, जिल्लाका राजनीतिक दलहरु केबुलकार निर्माणकै पक्षमा हुनुहुन्छ’ सांसद भट्टराईले भनेका थिए । उनका अनुसार अहिले वार्षिक तीन लाख पर्यटक आइरहेकामा केबुलकार निर्माण र पाथीभराको महिमाको प्रचारप्रसार गर्न सके वार्षिक १० लाख तीर्थालु र पर्यटक भित्र्याउन सकिने देखिएको छ ।

अहिले विरोधी पक्षहरुले भने जस्तो केबुलकार निर्माणले वातावरणमा कुनै पनि समस्या पर्ने र धार्मिक संस्कृति र आस्था पनि कमजोर नहुने उनको भनाई छ । पवित्र कान्छी थानभन्दा केबुलकार दुई सय मिटरको दूरीमा रहेको छ, पाथिभराको मूल मन्दिरभन्दा आठ सय मिटर बाहिर केबुलकार स्टेसन निर्माण हुन्छ, पाथिभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट पनि बन्ने होइन र रुख र पोल गरेर जम्मा दुई हजार ११२ कटान हुने निर्माण कम्पनीले जनाएको छ । बाहिर गरिएको २५ हजार रुख कटानको भनाइमा सत्यता नभएको कम्पनीको भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले वृद्धसम्मलाई दर्शन गराउनका लागि केबुलकार निर्माण अत्यावश्यक भएको बताइसकेका छन् । उनका अनुसार स्वीट्जरल्याण्डको प्रयोगलाई हेर्ने हो भने नेपालका लागि पनि पर्यटन र संस्कृतिको विकासका लागि केबुलकार निकै महत्वपूर्ण हुने र मनकामनामा यसको प्रयोगले पनि यो पुष्टि भइसकेको छ ।

सरोकारवालाहरु केबुलकार निर्माणले पाथिभरा क्षेत्रको मात्रै नभइ कोशी प्रदेशको आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जनादेखि होटल तथा रेष्टुरेन्ट व्यवसायले गति लिने बताउँछन् । उनीहरुका अनुसार यो परियोजना निर्माणले त्यहाँको शिक्षा, स्वास्थ्य, आयआर्जन बढ्नुका साथै मुलुकको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । पाथिभरामा आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट पनि बर्सेनि ठूलो संख्यामा पर्यटक ल्याउन सकिने र यसबाट उक्त क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने देखिएको छ ।

पाथिभरा क्षेत्रमा केबुलकार निर्माण हुँदा बालबालिकादेखि वृद्धवृद्धासम्मले सहजै दर्शन गर्न पाउने र त्यहाँ आउने मानिसहरुको संख्या पनि स्वभाविक रुपमा बढ्ने अपेक्षा गरिएको छ ।

चन्द्रागिरिमा वार्षिक लाखौको संख्यामा पर्यटक पुग्नु पनि केबुलकारकै कारण हो । अहिले आर्थिक विकास र पर्यटन प्रबद्र्धनको सबैभन्दा सजिलो र प्रभावकारी माध्यम बनेको छ । केबुलकारकै कारणले उक्त क्षेत्रको आर्थिक विकासमा सहयोग पुगेको छ ।

अध्यक्ष ढकालले सातवटै प्रदेशमा केबुलकार संरचना बनाउन गरेको घोषणाअनुसार काम अघि बढाइरहेका छन् । उनले राजधानीको चन्द्रागिरी, नबलपरासीको गैंडाकोट र बुटबलमा केबुलकार सञ्चालन गरिरहेका छन् । यस्तै सुदुरपश्चिम प्रदेशमा जल्पादेवी केबुलकारको निर्माण सुरु भइसकेको छ ।

प्रसिद्ध धार्मिकस्थल पाथिभरालाई लिम्बू समुयदायले मुक्कुमुल्लुङ भन्ने गर्दछन् । पाथिभरा क्षेत्र चार स्थानीय तह फक्ताङ्लुङ गाउँपालिका, फुङ्लिङ नगरपालिका, पाथिभरा याङवरक गाउँपालिका र सिरिजंघा गाउँपालिकामा पर्दछ । प्रसिद्ध पाथिभरा देवीको दर्शन गर्न यहाँ ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । पाथिभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि पुससम्म यहाँ ९२ हजारभन्दा बढी भक्तजन आएका छन् ।

यहाँ हाल वर्षमा करिब चार लाख धार्मिक पर्यटक एवं भक्तजन आउने गरेका छन् । यदि केबुलकार तथा आवश्यक अन्य पर्यटकीय पूर्वाधार निर्माण हुनसकेमा वर्षमा कम्तीमा पनि १५ लाख भक्तजन यहाँ आउने अनुमान गरिएको छ । त्यसैले यहाँका नागरिक जतिसक्दो चाँडै केबुलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा छन् ।

अहिले पाथिभरा मन्दिरसम्म पुग्न काफ्लेपाटीसम्म सडक पुगेको छ । सुकेटारसम्म कालोपत्र गरेको सडकको पहुँच पुगेको छ भने सुकेटारबाट काफ्लेपाटीसम्म ११ किलोमिटर कच्ची सडक हुँदै पुग्न सकिन्छ । काफ्लेपाटीबाट पदमार्ग हुँदै पाँच किलोमिटर उकालो चढेपछि तीन हजार सात सय ९५ मिटरमा रहेको पाथीभराको मन्दिरमा पुग्न सकिन्छ ।

उचाइमा अवस्थित यस मन्दिरमा पुग्न उकालो बाटो भएकाले ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी तथा शारीरिक असक्त एवं फरक क्षमता भएकाहरूका लागि निकै कठिन हुने गरेको छ । त्यसैले स्थानीयजस्तै यहाँ आउने दर्शनार्थीले पनि केबुलकार निर्माणको माग गर्ने गरेका छन् ।

यो पनि : 

‘पाथिभरा केबुलकारलाई लिएर ग्लोबल आइएमई बैंकमाथि प्रहार गलत’

कोशी प्रदेश बन्दको विरोधमा निजी क्षेत्र, पाथिभरा केबुलकार निर्माण निर्वाध रूपमा अघि बढाउन अपिल

पाथिभरा केबुलकार तत्काल अघि बढाउन राजनीतिक दलहरुको आग्रह, आइएमईको ३ अर्ब लगानी हुने

पाथिभरा केबुलकार बनाउन सर्वपक्षीय बैठक, निर्माण अघि बढाउने निर्णय

पाथिभरामा जस्तै बडिमालिका र बुढीनन्दामा केबुलकार बनाउन अध्यक्ष ढकाललाई मन्त्री पाण्डेको आग्रह

पाथिभरामा केबुलकार बनाउन जनदबाब, आइएमई ग्रुपले ३ अर्ब लगानी गर्दै

मुलुकभरी केबुलकार : निजी क्षेत्रको १ खर्ब लगानी, आइएमईको सबैभन्दा बढी

सातै प्रदेशमा केबुलकार सर्किट निर्माण गर्दै ‘केबुलकार किङ’ चन्द्र ढकाल

आइएमई ग्रुपले ३ अर्ब लगानीमा पाथीभरा केबुलकार बनाउँदै, छिटो सुरु गर्न स्थानीयको माग

पाथीभरामा केबुलकार निर्माण सुरु, पर्यटन तथा आर्थिक विकासमा कोशेढुङ्गा साबित हुने विश्वास

पाथीभरा केबुलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

पाथीभरा केबुलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौं : अध्यक्ष ढकाल

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend