काठमाडौं । ताप्लेजुङमा पाथीभरा केबलकार विवादमा आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच वार्ता हुने भएको छ। एमाले सचिव योगेश भट्टराईका अनुसार गृहमन्त्रीले भोलि सोमबार साँझ ६ बजेको समय दिएका छन्।
सांसद भट्टराईले आइतबार आन्दोलनरत पक्षसँग संवाद गरेको पनि बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधीन पाथिभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहाद्रपूर्ण संवाद गरियो। उहाँहरूका कुरा सुने। मेरा कुरा भनेँ ।’
वार्ता समितिसँग निरन्तर छलफल गरेर वार्ता मार्फत नै समस्याको समाधान गर्न भट्टराईले अनुरोध गरेका छन्।
उनले थप भनेका छन्, ‘उहाँहरूले माननीय गृहमन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरे, माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु।’

प्रतिक्रिया दिनुहोस