काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मङ्गलबार) दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल सुरु गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिने कार्यक्रम छ । कार्यसूचीमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ पेस गर्न अनुमति माग्ने प्रस्ताव समेत समावेश गरिएको छ । यसका साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्ने सम्भावित कार्यसूची छ ।
तर, संसद्मा नियमित कार्यसूची अगाडि बढ्ने विषय भने अझै अनिश्चित छ । प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गतेको बैठकमा सीमा सम्बन्धी नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने विवादित अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् । हिजो (सोमबार) पनि विपक्षी दलहरूको अवरोध र नाराबाजीका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी आजसम्मका लागि स्थगित गरिएको थियो ।
नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपासहितका विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उक्त गैरजिम्मेवारपूर्ण अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयंले रोष्टममा उभिएर माफी माग्नुपर्ने अडान राखेका छन् । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो भ्रामक अभिव्यक्ति नसच्याएसम्म संसद्को कारबाही अगाडि बढ्न नदिने चेतावनी दिएका कारण आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्छ वा फेरि अवरुद्ध हुन्छ भन्नेमा अन्योलता कायमै रहेको संसद् सचिवालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस