काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनीको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको सिभिल संरचना बनाउन निर्माण व्यवसायी छनौट भएको छ । साई पावर इन्फ्रा जेभीले ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँमा आयोजनाको सिभिल निर्माणको ठेक्का पाएको हो ।
प्रवर्धक कम्पनी लालुपातेको तर्फबाट कार्यकारी अध्यक्ष मोहन डाँगी र निर्माण कम्पनीको तर्फबाट महाप्रवन्धक घनबहादुर श्रेष्ठबीच आगामी ३० महिनामा सिभिल निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको हो ।
विभिन्न ७ वटा निर्माण कम्पनीहरूले दर पेश गरेकोमा ४ महिनाको छलफल पश्चात सबभन्दा न्यूनतम दर मूल्य अभिवृद्धि कर (भ्याट) सहित पौने चार अर्ब रुपैयाँ प्रस्ताव गर्ने साइ पावरलाई निर्माणको जिम्मा दिएको लालुपातेका अध्यक्ष डाँगीले जानकारी दिए ।
आयोजना निर्माण सुरु गरेको ३३ महिना १४ दिनमा सम्पन्न गर्ने अध्यक्ष डाँगी जानकारी दिएका छन् । निर्माण व्यवसायी छनौट भएकाले आयोजनाको सुरुङ खन्नेलगायत अन्य काम अघि बढ्ने भएको छ ।
सानिमा बैंकको अगुवाइमा ७ अर्ब ४७ करोड रुपैयाँ आयोजनामा ऋण लगानी भएको छ । नेतृत्वकर्ता बैंक सानिमाले १ अर्ब ९७ करोड, नबिल बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब रुपैयाँ आयोजनामा लगानी गर्ने भएका छन् ।
यस्तै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआइ बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १/१ अर्ब रुपैया ऋण लगानी गर्नेछन् ।
आयोजना बनाउन कूल ९ अर्ब ९६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये बैंकहरुले ७ अर्ब ४७ करोड रुपैयाँ ऋण र २ अर्ब ४९ करोड रुपैयाँ संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ । २५ प्रतिशत संस्थापकको स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी हुनेछ ।
इक्विटीमध्ये ३० प्रतिशत साधारण सेयर (आइपिओ) जारी गरेर जुटाउने तयारी कम्पनीको छ । १० प्रतिशत (२४ करोड ९० लाख) आयोजना प्रभावित
स्थानीयबासिन्दालाई र २० प्रतिशत (४९ करोड ८० लाख रुपैयाँ) सर्वसाधारणलाई आइपिओ जारी गर्ने लक्ष्य छ । अध्यक्ष डाँगीका अनुसार सर्वसाधारणबाट कूल ७४ करोड रुपैयाँ संकलन हुने भएको छ । आयोजनाबाट वार्षिक ३० करोड २२ लाख ७० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ ।
सम्बन्धित समाचार
दाना खोला आयोजनालाई जुट्यो लगानी, सानिमा बैंकको अगुवाइमा ७ अर्ब ४७ करोड ऋण
प्रतिक्रिया दिनुहोस