काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन् ।
बिहीबार ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताएका हुन् ।
‘प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ । त्यसपछि केपी ओलीको आयु सकिन्छ’ प्रचण्डले भने।
उनले भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि गर्न लागेको सभा पञ्च र्याली भएको बताएकाे पनि उनले टिप्पणी गरे । संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिना सपथ खुवाएर प्रधानमन्त्री ओलीले प्रतिगमन गरेको उनकाे भनाइ थियाे ।
संसद विघटन असंवैधानिक भएकाे भन्दै विभिन्न चरणमा आन्दाेलन गरिरहेकाे नेकपा दाहाल नेपाल समूह संवैधानिक निकायका पदाधिकारीलाई बुधबार संसदीय सुनुवाइबिना सपथ खुवाएपछि रुष्ट बनेकाे हाे ।