
काठमाडौं । भारतको उडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति माफी मागेको छ । विश्वविद्यालयले विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेको हो ।
त्यस्तै, नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने सुरक्षागार्ड र कर्मचारीलाई समेत कारबाही गरेको विश्वविद्यालयले जनाएको छ ।
केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा नेपाली विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई निस्कासन गरेको थियो ।
विश्वविद्यालयको छात्रावासबाट हिजो बिहान कुटपिट र गालीगलौज गर्दै विश्वविद्यालय प्रशासनले जबर्जस्ती लखेटेको थियो । त्यसपछि नेपाली विद्यार्थीहरु रेल्वे स्टेसनमा अलपत्र परेका थिए ।
विश्वविद्यालयका अनुसार नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुई सुरक्षागार्डलाई बर्खास्त गरेको छ । त्यसैगरी, दुई जना छात्रवासका कर्मचारी र एक जना प्रशासनका कर्मचारीलाई निलम्बन गरेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले निस्कासित नेपाली विद्यार्थीलाई फर्किन आह्वान गरेको छ । उडिसाको केआईआईटी विश्वविद्यालयमा १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend