
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहले आज राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ।
दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभालाई प्रधानमन्त्री ओलीसहित तीन जना नेताले सम्बोधन गर्नेछन् । सभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्वोधन गर्ने भएका हुन् । सभाबाट प्रधानमन्त्री ओलीले पार्टी बिभाजनको तथ्यसहित विशेष घोषणा गर्ने कार्यक्रम रहेको उपत्यका इञ्चार्ज तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्रीलगायत मञ्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको नेकपा बागमतिका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।
सभाका लागि १३ ठाउँबाट जुलुस निकालिने
नेकपाले जनसभाअघि उपत्यकाका विभिन्न १३ स्थानबाट निकालेको जुलुस सुरु दरबारमार्गमा पुगेर सभामा परिणत हुने जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश संगठन कमिटीले जुलुसको रुट र जिम्मेवार क्षेत्र निर्धारण गरेको छ ।
– बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी,
– प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ ।
– महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन,
– घण्टाघरमा मुस्लिम समुदायका सहभागी
– सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कने,
– त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी,
– गौशालाबाट भक्तपुरका सहभागीहरु,
– माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरु,
– पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन,
– लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी,
– सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।
– टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend