
काठमाडौं । सवारी साधनको सम्भावित दुर्घटना रोक्न अनामनगरस्थित धोबीखोला पुलछेउमा अस्थायी समाधान गरिएको छ ।
गत सोमबार कार दुर्घटना भएपछि सोही स्थानमा बिहीबार सिंहदरबार प्रहरी वृत्तले अस्थायी समाधान गरेको हो । सिंहदरबार प्रहरी वृत्तका प्रहरी वरिष्ठ उपरीक्षक गंगाप्रसाद पौडेलले दीर्घकालीन बार नबनेसम्मका लागि प्रहरीसँग भएको सामान्य स्रोतले रिफ्लेक्टर र डोरीको व्यवस्था गरेको बताए ।
उनले स्थायी समाधानका लागि बार निर्माणको प्रक्रियामा रहेको बताए । स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने उनको भनाइ छ ।
उनले भने, ‘हालसालै पनि यहाँ एउटा कार दुर्घटना भयो तर मानवीय क्षति हुन पाएन । ठूलो दुर्घटनाबाट हामी जोगियौँ । तर सडकको पेटी हेर्दाखेरि चाहिँ ड्राइभरसँग पनि हामीले कुरा गर्यौँ, ड्राइभर झुक्किएको भन्ने उहाँहरुले कुरा गर्नुभयो । पुल यहाँ छ पुलको ट्रनिङ त्यहीँ होला भनेर झुक्किएको भन्नुभयो । बारम्बार यस्ता घटना हुन सक्छन् भन्ने हिसाबमा हामीले समन्वय गर्यौँ ।
यसको दीर्घकालीन बार लगाउने कुरा टेण्डरको प्रोसेसमा भएको र बन्नका लागि केही समय लाग्ने भएकाले तत्काल सम्भावित दुर्घटना रोक्नका लागि अहिले यो रिफ्लेक्टर र डोरी राखेपछि दीर्घकालीन बार नबनेसम्म यसले केही न केही त रोक्ला । हामीसँग भएको स्रोतबाट जुगाडवाला आइडिया गरेका छौँ । यहाँ हामीलाई स्थानीयहरुबाट पनि सहयोग र सकरात्मक फिडब्याक आएको छ, उहाँहरुलाई नै साथमा लिएर यो गरेको हो ।’
गत सोमबार उक्त स्थानबाट कार दुर्घटना भएको थियो । मानवीय क्षति नभए पनि व्यस्त सडकमा भौतिक संरचनाको अभावमा चालक झुक्किएर दुर्घटना हुनुलाई गम्भीर रुपमा लिइएको छ ।
भौतिक निर्माणमा लापरबाही भएको भन्दै यस्ता सानातिना विकास निर्माणका काममा गम्भीर बन्न सरकारलाई स्थानीयहरुले आग्रह गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend