२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

कीर्तिपुरको होल्डिङ सेन्टर

निलो टेन्टभित्र बन्द बाल्यकाल : थापाथलीबाट कीर्तिपुर पुगेका सुकुम्बासीको प्रतीक्षामा बितिरहेका दिनहरु

बुधवार , आषाढ ३, २०८३

दुई महिनादेखि कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका थापाथलीका विस्थापित परिवारहरू भन्छन् –खाना, स्वास्थ्य, शिक्षा र भविष्य सबै अनिश्चित छ। निलो टेन्टभित्र बालबालिकाको पढाइ रोकिएको छ भने अभिभावकहरू राहतभन्दा स्थायी बसोबासको प्रतीक्षामा छन् ।

मंगलबार मध्यान्ह ठीक १२ बजेतिर कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर पुग्दा बाहिरको खुला चौउरमा एउटा सानो रुखको छहारीमुनि दुई दम्पती बसिरहेका  सिराहाका हिरा दाकेर दुसाद र सुवान देवी दुसाद थिए ।

उनीहरूको हातमा मोबाइल थियो, आँखामा थकान, मोबाइलको स्क्रिनमा संसद चलिरहेको थियो— रास्वपाका सांसद रमेश प्रसाईंको भाषण ।  तर उनीहरू संसद हेरेर राजनीति बुझिरहेका थिएनन् । सायद आफ्नै जीवन कतै सुनिन्छ कि भनेर हेर्दै थिए । हामी नजिक पुग्यौँ,उनीहरू सहजै बोल्न तयार भए, उनीहरूको घर बारा, कलैया,तर घर भन्नु अहिले सम्झनामा मात्रै बाँकी छ ।

WhatsApp Image 2026-06-17 at 1.12.52 PM.jpeg

१० जनाको परिवार विगत १० वर्षदेखि थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएको थियो। अहिले त्यही परिवारका सात जना सदस्य दुई महिनादेखि होल्डिङ सेन्टरको एउटा टेन्टमा छन् । दिनचर्या लगभग एउटै छ— बिहान ९ बजे लाइन लागेर खाना थाप्ने, खाने, अनि दिनभर चौउरमा बसेर समय काट्ने मोबाइल हेर्ने सुःख–दुःख साट्ने ।

देशभर कतै पनि उनीहरूको नाममा एक टुक्रा जमिन छैन,जग्गाधनी पुर्जा छैन । ५७ वर्षीय ती पुरुषले एकछिन टाढा हेरे अनि भने

—‘थापाथलीमा दुःख थियो, तर आफ्नै जस्तो थियो, यहाँ बसाइ... जेलजस्तो भयो ।’ “यहाँको बसाइ... जेलजस्तो भयो...” उनको स्वरमा रिस थिएन ,थकान थियो । कोही प्रति आक्रोश पनि थिएन मात्रै आशा थियो,यो बन्दीगृहबाट छिटो भन्दा छिटो बाहिरीने । उनले थपे—‘होल्डिङ सेन्टरभित्र १० मिनेट बस्न सकिँदैन,खाना स्वाद छैन, पानीको समस्या छ, बिरामी परे अस्पताल जान पैसा छैन, सुरुमा खाना राम्रो थियो, अहिले केही मिठो लाग्दैन ।

WhatsApp Image 2026-06-17 at 1.12.57 PM (1).jpeg

सरकारले बाढीबाट जोगाउन ल्याएको भनिएको यो स्थानमा पनि उनीहरूलाई सुरक्षित महसुस भएको छैन । ‘थोरै पानी प¥यो भने सबै भल यहीँ पस्छ, ’ उनले भने, ‘दैनिक १०–१५ जना बिरामी भएर अस्पताल जानुपर्छ, तर उपचार गर्ने पैसा छैन ।’ त्यसपछि उनले एउटा प्रश्न गरे— जसको जवाफ सायद उनी आफैँसँग पनि छैन— ‘ल्यायो सरकारले, अब बाँच्न पनि सरकारले नै दिने कि नदिने ?’ दुई महिनादेखि कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका थापाथलीका विस्थापित परिवारहरू भन्छन् –खाना, स्वास्थ्य, शिक्षा र भविष्य सबै अनिश्चित छ। निलो टेन्टभित्र बालबालिकाको पढाइ रोकिएको छ भने अभिभावकहरू राहतभन्दा स्थायी बसोबासको प्रतीक्षामा छन् ।

000000

केही पर १२–१३ वर्षकी एक किशोरी उभिएकी थिइन्, स्कुलको पुरानो टी–सर्ट लगाएकी ,पहिला बोल्न मानिनन्, पछि अनुरोध गरेपछि बसिन् । उनी सर्लाहीकी हुन्, तर उनका बाल्यकालका धेरै वर्ष थापाथलीमै बिते, त्यहीँ नजिकको विद्यालयमा कक्षा ६ पढ्दै थिइन् । बस्ती हट्यो , स्कुल छुट्यो, जीवन अर्को ठाउँ सरेको छ— तर पढाइ सरेन । 

WhatsApp Image 2026-06-17 at 12.37.15 PM.jpeg

केही दिन कीर्तिपुरको विद्यालयमा गइन्, तर पुरानो विद्यालयको सर्टिफिकेट मागियो  त्यसपछि उनी फर्किइन् । अहिले उनका बिहानहरू किताब होइन, टेन्टबाट सुरु हुन्छन् । उनले यहाँ साथी बनाएकी छन्– विष्णु लक्ष्मी गुरुङ। विष्णु पनि पहिले गुहेश्वरी माविमा मा पढ्थिन्, अहिले उनी पनि पढ्न छाडेर होल्डिङ सेन्टरको दिनचर्यामा सीमित छिन् ।

00000

कुराकानीपछि ती किशोरीले अचानक भनिन् ‘अंकल, हाम्रो घर हेर्न जाने? ’ घर? हामी उनीसँगै गयौँ । सत्संग भवनभित्रको निलो टेन्टको बाहिर एउटा नाम लेखिएको थियो ,भित्र छिर्दा उनले एउटा–एउटा ठाउँ देखाइन ‘यता हामी सुत्छौँ... यहाँ खाना पकाउँछौँ... अनि यो थापाथलीबाट ल्याएको सामान राख्ने ठाउँ...’ टेन्टको एउटा कुनामा स्कुल ब्याग झुण्डिरहेको थियो, त्यो ब्याग अझै स्कुल फर्किने आशामा जस्तो देखिन्थ्यो, केही पर उनको साथीको टेन्ट थियो।उनी भित्र सफा गर्दै थिइन्। मुस्कुराउँदै भनिन्– ‘अंकल, एकछिन है..’ केही दिनअघि उनको जन्मदिन रहेछ ।

WhatsApp Image 2026-06-17 at 12.37.14 PM.jpeg

जन्मदिन केक, साथी र फोटो स्टुडियोमा होइन— यही निलो टेन्टभित्र मनाइएको रहेछ । उनको अनुहार गर्मीले घाउघाउ भएको थियो , फोटो खिच्नुअघि उनले एउटा कुरा मात्रै भनिन्–‘अंकल, अनुहार नआउने गरेर खिच्नु है ।’

00000

होल्डिङ सेन्टरभित्र केही बालबालिका क्यारेम खेलिरहेका थिए, कोही शितल खोज्दै हिँडिरहेका थिए, कतिपय साना बच्चाहरू बाहिर जान पाउँदैनन्। उनीहरूको संसार अहिले यही आश्रमको पर्खालभित्र सीमित छ ।

WhatsApp Image 2026-06-17 at 1.12.59 PM.jpeg

यहाँका बासिन्दा भन्छन् सरकारले १५ हजार, २५ हजार हुँदै ७० हजारसम्म सहयोग दिने कुरा सुनेका थियौँ, तर अहिलेसम्म एक रुपैयाँ पाएका छैनौँ, अहिले खाना एउटा संस्थाले दिइरहेको छ । उनीहरू सामूहिक स्वरमा भन्छन्–‘हामीलाई सरकारले ल्याएको हो,खुवाउने जिम्मा पनि सरकारले लिनुपर्छ ।’ यहाँ टिभी छैन,इन्टरनेट छैन, बाहिरी संसारसँग जोडिने सुविधा छैन ।

छ केवल प्रश्नहरू— भोलि के खाने?बच्चा कहाँ पढाउने? बिरामी हुँदा के गर्ने? र... यो टेन्ट कति दिनको घर हो? होल्डिङ सेन्टर नजिकै विद्यालयमा घण्टी बजिरहेको थियो, विद्यार्थीहरू कक्षामा थिए,यता केही बालबालिका भने निलो टेन्टभित्र आफ्नै उमेरलाई पर्खिरहेका थिए  र प्रतिक्षामा थिए कि घण्टी बज्न साथ स्कुलको कक्षा कोठा भित्र छिर्ने दिनको ।

हेर्नुहोस होल्डिङ सेन्टर भित्रका केही तस्विरहरु

WhatsApp Image 2026-06-17 at 1.12.55 PM.jpeg

WhatsApp Image 2026-06-17 at 1.12.54 PM.jpeg

WhatsApp Image 2026-06-17 at 1.12.56 PM.jpeg

WhatsApp Image 2026-06-17 at 12.37.42 PM.jpeg

WhatsApp Image 2026-06-17 at 1.12.57 PM.jpeg

WhatsApp Image 2026-06-17 at 1.12.53 PM.jpeg

WhatsApp Image 2026-06-17 at 12.46.22 PM.jpeg

 

  तस्बिरहरु मञ्जिल बोगटी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट