समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जेठ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। समितिका अनुसार यस महिनामा विभिन्न समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने र ऋणीहरूबाट बक्यौता असुल गर्ने कार्यमा महत्वपूर्ण प्रगति भएको देखिएको हो।
समितिले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनामा ८ वटा समस्याग्रस्त सहकारीका कुल एक हजार ४५२ जना बचतकर्ताहरूलाई ५९ लाख ४ हजार ६८९ रुपैयाँ बचत फिर्ता भएकाे छ। फिर्ता गरिएको यो रकम मुख्यतया १० हजार रुपैयाँभन्दा मुनिका साना बचतकर्ताहरूको रहेको समितिले बताएको छ ।
बचत फिर्ता गरिएका सहकारीहरूमा कृषि विकास बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, पशुपति सेभिङ, नागरिक कल्याण, ओरिएन्टल को–अपरेटिभ, गोरखा सेभिङ, शिव शिखर र लालिगुराँस बहुउद्देश्यीय सहकारी रहेका छन्। यी सहकारीका ऋणीहरूबाट असुल भएको रकमबाट दाबीकर्ताहरूलाई दाबी भुक्तानी गरिएको समेत समितिले जनाएको छ।
त्यसैगरी, १२ वटा समस्याग्रस्त सहकारीका ऋणीहरूबाट कुल एक करोड २० लाख ४६ हजार रुपैयाँ ऋण असुली भएको समितिले उल्लेख गरेको छ। यसैगरी, १२२ जना बचतकर्ताको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत मिलान समेत गरिएको हो।
बचत मिलान र ऋण असुली भएका सहकारीहरूमा ओरिएन्टल, तुलसी, कृषि विकास, आइडियल यमुना, शिव शिखर, स्ट्याण्डर्ड सेभिङ, लालिगुराँस, कान्तिपुर, गौतमश्री, पशुपति, गोरखा र नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।
प्रतिक्रिया दिनुहोस