
काठमाडौं । निर्वाचन आयोगले दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ । यो जिम्मेवारीसँगै नवनियुक्त आयुक्त भण्डारीले विभाजित नेकपाको विवादसम्बन्धी कागजातको अध्ययन थालेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । नेकपा विवाद सम्बन्धि अध्ययनका लागि आयोगले आयुक्त भण्डारीलाई तीन दिनको समय दिएको छ ।
दूई आयुक्त थपिएपछि आयोगले शुक्रबार जिम्मेवारी बाँडफाँड गरेको थियो । त्यसैअनुसार कानुनी पृष्ठभूमिका भण्डारीलाई दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी दिइएको हो । ‘उहाँको कानुनी पृष्ठभूमि भएका कारण कानुनसम्बन्धी जिम्मेवारी दिइएको हो । माननीयज्यूहरूको छलफलले जिम्मेवारीका विषयमा छलफल गरेर उक्त निर्णयमा पुग्नुभएको हो,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘यसलाई नियमित प्रक्रिया भनेर बुझ्नुपर्छ । संवैधानिक आयोगको जिम्मेवारीमा रहेको व्यक्तिले कुनै निश्चित निर्णयमा असर पु¥याउने भन्ने हुँदैन ।’
भण्डारीसँगै डा। जानकीकुमारी तुलाधरले बुधबार शपथ लिएकी थिइन् । भण्डारी र तुलाधर आयुक्त हुनुपूर्व आयोगमा दिनेश थपलिया प्रमुख आयुक्त तथा नरेन्द्र दाहाल र ईश्वरी पौड्याल आयुक्त थिए । नेकपा विवाद चाँडो नसल्ट्याए वैशाखका लागि तोकिएको निर्वाचन सम्भव नहुने पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले बताउँदै आएका छन् । नेकपा विवाद टुंग्याउन कम्तीमा ४५ दिन लाग्ने अनुमान गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend