logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • पोर्चुगलमा नेपाली सङ्गीत

    पोर्चुगलमा नेपाली सङ्गीत

    5.6K
    Shares

    -भगवान गिरी

    लिस्बोन । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा छन् । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा सक्रिय सिलवाल विदेशी भूमि पोर्चुगल आएपछि प्रायःजसो नेपाली गीत सङ्गीतका कार्यक्रममा व्यस्त भइरहन्छन् ।
     
    नेपालीको सङ्ख्या अत्याधिक रहेकाले  कार्यक्रम पनि लगातार भइरहन्छन् । उनलाई सङ्गीतको नशाले छाड्न सकेन तर पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण कार्यक्रम ठप्प छन् । उनको गीतसङ्गीत र अभिनयप्रतिको मोह घटेको छैन । उनले यो समयमा लगभग आधा दर्जन म्युजिक भिडियो निर्देशन, सम्पादन गरेर युटुवमार्फत सार्वजनिक गरिसकेका छन् भने युरोपकै कथामा आधारित हैट युरोप टेलिशृङ्खला निर्देशन गरिरहहेका छन् ।

     साथै उनले लोक दोहोरीको कार्यक्रम चौतारी र नेपाल बाहिरका नेपाली कार्यक्रम पनि उत्पादन गरेर युटुवमार्फत प्रसारण गरेका छन् । जेबी ओली वैदेशिक रोजगारको सिलसिलामा छ वर्षयता पोर्चुगलमा छन् । नेपालमा हुँदा लोक तथा दोहोरी गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक ओलीले आफू र आफ्नो परिवारको उज्वल भविष्य बनाउने सपना देखेर युरोपेली मूलुक बेल्जियममा साङ्गीतिक कार्यक्रममा आएका बखत यतै बस्ने निर्णय गरे ।

    यतै बस्ने मन पटक्कै थिएन सङ्गीत क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धाको कारण कलाकारिताको बजार नभएको र आफ्नो गुजारा चलाउन कठिनाई भएपछि मनलाई दर्हो बनाएर यतै बसेको उनी बताउँछन् । 

    प्रवासी भएपछि आफ्नो रुचिको पेशालाई समय दिनै समस्या आएको उनले बताए । उनले शुरुशुरुमा आफ्नो काम, बसाइँ अनुमतिपत्र बनाउनतर्फ मेहनत  गर्नुपर्यो । पोर्चुगलको बसाइँ अनुमतिपत्र बनेपछि आफ्नो कामबाट समय निकाल्दै साङ्गीतिक कार्यक्रममा सहभागी भएर आफ्नो गायन कला  प्रस्तुत गर्न थालेको उनी बताउँछन् ।
        
    दुई दर्जन बढी चर्चित लोकगित सङ्गीत पारखीको माझमा पस्कनुका साथै लाइभ दोहोरी प्रतियोगितामा प्रथम भएका गायक ओली पछिल्लो समयमा युरोपेलीमूलुक स्पेन, डेनमार्क, नर्वे, बेल्जियमलगायतका  देशमा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति गर्दै आएका छन् ।  उनी मञ्चमा कार्यक्रम हुन छाडेपछि भर्चुअल माध्यमबाट सङ्गीत प्रेमीको तिर्खा मेटाउँदै आएका छन् । उनी पनि युटुब, टिकटक र फेसबुक लाइभमा व्यस्त छन् ।

    उनी जस्तै रोल्पाकी अङ्किता मगर पनि युरोपको बसाइँ अनुमतिपत्र बनाउने सोचाइका साथ दुई वर्षसम्म नेपालमा सिकेको सङ्गीतलाई बिट मार्दै पाँच वर्ष पहिला विदेश पलायन भइन् । हाल उनी पोर्चुगलमा छन् । उनी वैदेशिक रोजगारसँगै आफ्नो गायन पेशामा निरन्तर छन् । उनले एक दर्जन भन्दा बढी लोकगित र आधुनिक गित बजारमा ल्याइसकेकी छन् भने केही गीत पोर्चुगलमै रेकर्ड गरेर बजारमा आउँदैछन् । उनी पनि अहिले सामाजिक सञ्जालको प्रयोगमार्फत आफ्ना शुभचिन्तकलाई मनोरञ्जन दिँदै आफूले पनि सङ्गीतलाई निरन्तरता दिँदै आएको बताउँछिन् ।
      
    हार्मोनियम लिएर प्रायःजसो फेसबुक लाइभमा देखिने अर्का गायक पूर्ण अर्याल नेपालमा छँदा स्कुले जीवनबाटै अतिरिक्त कार्यक्रममा सहभागी हुँदाहँुदै गायन क्षेत्रमा लागेका थिए । अर्याल  थुप्रै लोकदोहोरी गीति एल्बम निकाल्दै , प्रत्यक्ष प्रतियोगितामा सहभागी हुँदै आफ्नो कलाकारितामा सक्रिय भएर लागेका थिए । 

    राजनीति र व्यवसायमा सक्रिय चिजकुमार तामाङ पोर्चुगलमा पुराना र सहयोगी व्यक्तिमा गनिन्छन् । पछिल्लो समय कोभिड–१९ का कारण पोर्चुगलमा कार्यक्रम भएका छैनन् । उनी पनि अहिले प्रायःजसो सारङ्गी, मादल र हार्मोनियमसँगै फेसबुक प्रत्यक्ष प्रसारणमा नै देखिन्छन् । कोभिडले त्रास र तनाब त छँदैछ तर भाषणको जिन्दगीबाट फुर्सदको यो समय उनका लागि छुट्टै आनन्दले बितिरहेको उनी बताउँछन् । स्कुले जीवनमा सिकेको सङ्गीत र व्यस्तताले गुमाउँदै गरेको रहर अहिले फेसबुकलाईभमार्फत पोख्न्नुको खुशी उनी बारम्बार व्यक्त गर्दै पुराना कालजयी गीत प्रस्तुत गरिरहन्छन् ।
      
     यी त पोर्चुगललाई कर्मथलो बनाएका कलाकार पात्रहरु मात्रै हुन् । पोर्चुगलमा थुप्रै कलाकार छन् । कोभिड –१९ का कारण काम गुमाएर बस्ने नेपालीको सङ्ख्या अत्यधिक छ । यस्तो प्रतिकूल अवस्थामा कलाकारले आफ्नो कलालाई यसरी प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गराइरहदा दर्शकको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया आएको उनीहरु बताउँछन् ।   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend