एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यको ओल्डस्मार शहरमा खानेपानी आपूर्ति गर्ने सिस्टम ह्याक गरेर विषादीयुक्त तत्व मिसाउने प्रयास भएको छ ।
ओल्डस्मार शहरको ‘वाटर ट्रिटमेन्ट सिस्टम’ ह्याक गरेर पानीमा सोडियम हाइड्रोअक्साइडको मात्रा बढाउने कोशिश भएको हो । जसलाई तुरुन्त एक कर्मचारीले रोक्न सफल भएको बीबीसीमा उल्लेख छ ।
पानीमा सोडियम हाइड्रोअक्साइडको मात्रा बढी भएमा गम्भीर समस्या देखिन सक्छ । यसले आँखा पोल्ने, कपाल झर्ने, वान्ता हुने, पखाला लाग्ने जस्ता समस्या निम्त्याउँछ ।
ओल्डस्मार शहरमा पानी आपूर्ति गर्ने सिस्टमको नियन्त्रण गर्ने कम्प्युटरलाई ह्याकरले नियन्त्रणमा लिएको थियो । योे प्रयास अमेरिका भित्रैबाट भएको हो वा अन्य देशबाट भएको भन्ने पत्ता लागिनसकेको उक्त शहरका मेयरले बताएका छन् ।
ह्याकरले पानी आपूर्ति गर्ने सफ्टवेयरको ह्याक गरेर पानीमा सोडियम हाइड्रोअक्साइड प्रति दश लाख १०० हुनेपर्नेमा बढाएर ११ हजार एक सय बनाइदिएको थियो । कम्प्युटर अपरेटरले यसलाई तुरुन्त सामान्य अवस्थामा फर्काएका थिए ।