अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेको छ।उनले बुधबार म्यानमारको सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेको सिएनविसिले जनाएको छ।
बाइडेनले हस्ताक्षर गरेपछि अमेरिकीले पहिलो चरणमा एक साताभित्र कसलाई के केमा प्रतिबन्ध लगाउने भन्ने निरीक्षण गर्नेछ। पहिलो चरणमा अमेरिकामा रहेको म्यानमार सरकारको १ अर्ब अमेरिकी डलरमा सैनिक जनरलहरूको पहुँच पनि रोक्ने बताएको छ।
बाइडेनले म्यानमार सरकारलाई फाइदा पुग्ने अमेरिकी सम्पत्ति फ्रिज गर्ने , नागरिक समूह तथा स्वास्थ्य हेरचाह र म्यानमारका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने अन्य क्षेत्रमा सहयोग गर्ने पनि बताएका छन् । उनले थप प्रतिबन्ध लगाउन पनि तयार रहेको र यो प्रयासमा अरू मुलुकलाई जोड्न अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर काम गर्ने समेत बताएको छ ।
सन् २०११ मा सैनिक शासनको अन्त्य भएको म्यानमारमा सेनाले फेरि कू गरेपछि अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ। म्यानमारमा गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले उक्त चुनावबाट निर्वाचित भएका सांसदहरूको पहिलो बैठक बस्न लागेको दिन नै सत्ता कब्जा गरेको थियो ।
बाइडेनले नेतृ आङ सान सुकीसहित अन्य नेताहरूलाई पनि तत्काल रिहा गर्न र सत्ता हस्तान्तरण गर्न पनि म्यानमार सेनालाई आदेस दिएको छ।एजेन्सी