२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

व्यावसायिक रुपमा नौमती बजाउँदै महिला

मंगलवार , फाल्गुण २०, २०८१

इलाम । यहाँको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरुले व्यावसायिक रुपमा नौमती बजाउन थालेका छन् ।

गत पुस ४ देखि १५ गतेसम्म तालिम लिएका उनीहरु यतिबेला विवाह, व्रतबन्ध, पुराणलगायत शुभकार्यमा नौमती बजाउन व्यस्त छन् ।

उद्यमशील महिला समूह रोङ–२ की बबिता बोहोरालाई झापाबाट नौमती बजाउन निम्तो आएको छ । झापाको विर्तामोड, उर्लाबारी, धुलाबारी, दमकलगायत क्षेत्रबाट फोन आउने गरेको बोहोराले बताइन् । “हालसम्म सातवटा कार्जेमा नौमती बजायौँ । अझै वैशाखसम्मलाई फोन आइरहेको छ,” उनले भनिन्, “हामी पाँचदेखि ११ जनाको टोली जान्छौँ । कसैले १० हजार कसैले १५ हजार त कसैले २०–२५ हजार दिने गर्नुभएको छ ।”

गीता कट्टेललाई नौमती बाजाको तालिम लिँदा आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन । “गाउँपालिकाले जुुराएको अवसर उपयोग गर्न सीप सिकौँ भनेर गएका थियौँ । तर यसरी व्यावसायिक आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन,” कट्टेलले भनिन् ।

नौमती बजाउनेमा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न आयोजना गरिएको तालिम प्रभावकारी भएको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताइन् ।

“महिलाको क्षमता विकास गर्न, उनीहरुलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सबल बनाउन तालिमले सहयोग पुर्याएको छ,” उपाध्यक्ष भुजेलले भनिन्, “बाजागाजा कुनै जातले छुने, कसैले नछुने भन्ने सोच अब राख्नु हुन्न । लोप हुँदै गएका संस्कार, संस्कृति, लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो ।”

विभेदले समाजमा एकता नल्याउने भएकाले नौमतीलाई सबैको साझा लोकबाजाका रुपमा स्थापित गर्न तालिम लिएको अर्की सहभागी महिला भीमा भट्टराईको भनाइ छ ।

विगतमा नौमती छुइन्छ कि भन्दै तर्किने समुदायले नौमतीलाई साझा लोक संस्कृतिका रुपमा स्वीकार्न थालेको स्थानीय रामबहादर दर्जीले बताए । उनले भने, “यसरी सबैको सोच परिवर्तन भएमा विभेदरहित समाज सम्भव छ ।”

महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा तालिम दिइएको थियो । नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल हुन्छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट