बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

शर्मा एन्ड कम्पनीसँग १४ अर्बको परियोजना, समिट पाँचतारे होटल र अपार्टमेन्टमा लगानी

शर्मा एन्ड कम्पनीसँग १४ अर्बको परियोजना, समिट पाँचतारे होटल र अपार्टमेन्टमा लगानी

काठमाडौं । मुलुककै ठूला निर्माण व्यवसायी मध्ये एक शर्मा एन्ड कम्पनीसँग १४ अर्ब रुपैयाँ परियोजना ठेक्का रहेको छ । ठेक्का रकम गत वर्ष गरेको कूल कारोबारको चार गुणा बढी हो । गत वर्ष कम्पनीले ३ अर्ब ६२ करोड ८० लाख रुपैयाँ कारोबार गरेको थियो ।

२०२३ मा ३ अर्ब ६२ करोड ५० लाख, २०२२ मा २ अर्ब ४७ करोड ६० लाख, २०२१ मा १ अर्ब ८९ करोड ९० लाख रुपैयाँ निर्माण कारोबार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । २०२० मा कम्पनीले ८८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको १४ अर्ब ५५ करोड २१ लाख रुपैयाँ ऋण रहेको छ । फण्ड बेस हायर पर्चेजमा १३ करोड ७० लाख, अल्पकालिन २ अर्ब ५७ करोड ६७ लाख र दीर्घकालिन ऋण ११ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

‘क’ वर्गको कम्पनी शर्माले सडक, पुल, खानेपानी र भवन निर्माण ठेक्का लिएको छ । शर्माले ठेक्का पाएका अधिकाँश परियोजना सार्वजनिक क्षेत्रसँग सम्बन्धित छ । कम्पनीले भवन र मेशिनरी उपकरण भाडामा दिएर आम्दानी गर्दै आएको छ । कम्पनी एक्लै र संयुक्त उपक्रम (जेभी) मा परियोजना निर्माणको ठेक्का लिएको छ ।

सन् १९६६ मा राधाकृष्ण शर्माले निर्माण व्यवसाय सुरु गर्न शर्मा एन्ड कम्पनी स्थापना गरेका हुन् । कम्पनीले १९८० मा सरकारबाट ‘क’ वर्गमा स्तरोन्नती भएको हो । कम्पनीका अध्यक्ष रमेशकुमार शर्माको ६७ प्रतिशत स्वामित्व छ । बाँकी ३३ प्रतिशत स्वामित्व परिवारका अन्य सदस्यको छ ।

निर्माण व्यवसाय गर्दै आएको शर्मा एन्ड कम्पनीले पछिल्लो समय लगानी विविधिकरणसमेत गरेको छ । समिट ग्रुपले ललितपुरको कुपन्डोल हाटइटमा बनाइरहेको पाँचतारे लक्जरी होटल र अपार्टमेन्टमा १५ प्रतिशत स्वामित्व लिएर लगानीकर्ताको रुपमा प्रवेश गरेको छ । निर्माणको जिम्मेवारीसँगै साझेदारको रुपमा कम्पनी भित्रिएकाे हो ।

सिजी ग्रुप, समिट र एनई ग्रुपको साझेदारीमा ललितपुरको कुपन्डोलमा रहेको समिट होटललाई भत्काएर ६ अर्ब रुपैयाँ लगानीमा लक्जरी पाँचतारे होटल र अपार्टमेन्ट निर्माण गरिरहेको छ । परियोजना आगामी सन २०२६ मा पूरा गर्ने लक्ष्य लिइएको छ ।

होटल र अपार्टमेन्ट डिजाइन सिंगापुरको आर्किटेक्ट कम्पनी मेनहार्ड इन्फ्रास्ट्रक्चर पिटिई लिमिटेडले गरेको छ । उच्च वर्ग लक्षित अपार्टमेन्ट बनाउन लागिएको हो । समिट होटल एन्ड रेसिडेन्सेस १ सय ३५ कोठासहितको पाँचतारे होटल बन्दै छ । यस्तै होटल परिसरभित्रै १ सय १६ युनिट अपार्टमेन्ट टावर पनि निर्माणाधीन छ । समिट १८ रोपनीमा फैलिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend