२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

मजदुर र किसानलाई प्राथमिकता दिँदै पार्टी सङ्गठन विस्तारमा अझै क्रियाशील हुन्छु : नारायणमान बिजुक्छे

बुधवार , फाल्गुण २१, २०८१

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीका नेता कार्यकर्ताले पार्टी सम्हाल्ने जिम्मेवारी पुनः आफूलाई दिएको बताएका छन् ।

पार्टीका नवनिर्वाचित अध्यक्ष बिजुक्छेले राससका भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीसँग सङ्क्षिप्त कुराकानी गर्दै पार्टीको नीति तथा कार्यक्रमलाई देशभर लगी सङ्गठन विस्तार गर्न ध्यान केन्द्रित गर्ने बताए । उनले मजदुर र किसानलाई प्राथमिकता दिँदै देश र जनताका पक्षमा अझै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष बिजुक्छेले भने, “साथीहरूले मलाई पार्टी सम्हाल्ने जिम्मेवारी पुनः दिनुभएको छ । नयाँनयाँ साथीलाई अरु ठाउँमा जिम्मेवारी दिने र तपाईं पार्टी सम्हाल्ने भनेर फेरि मलाई जिम्मेवारी दिनुभयो । विसं २०१४ देखि राजनीतिमा लागेँ । जहिलेसम्म सक्छु त्यतिबेलासम्म निःस्वार्थभावले देश र जनताका पक्षमा समर्पित भएर सेवा गर्नेछु ।”

संसदीय राजनीति त्याग गर्नुभयो, पार्टी अध्यक्ष चाँहि फेरि किन भन्ने जिज्ञासामा उनले भने, “२५ वर्ष संसदीय राजनीति गरेँ, वीरक्तिएर आयो । संसद् गाली गर्ने थलोमा परिणत भयो, विज्ञता कम छ, मन्त्री हुनेहरुको दूरदृष्टि छैन, भ्रष्टाचार बढ्दो छ । पार्टीका नेताहरु नै सडकमा कार्यकर्तालाई टायर बाल्न लगाउँछन् । संसद् ऐन, नीति–नियम बनाउने थलो हो, कयौँ वर्ष ऐन–नियम निर्माण अड्किन्छ, संसद् कोष बनाएर दुरुपयोग हुन्छ, अनि वीरक्त लागेर आउँछ ।”

पैसा बाँडेर गरिने राजनीतिले देशको भलो नहुने भन्दै उनले सबै नेताले गम्भीर भएर देश र जनताको हितको लागि निःस्वार्थ भावनाले काम गरे देश बन्न समय नलाग्ने बताए ।

नवनिर्वाचित अध्यक्ष बिजुक्छेले नेता भएर आफ्नो परिवार र नातागोताको भविष्य मात्र हेर्ने होइन, देश र जनताको भविष्य हेर्ने हो भन्दै देश बने जनता र परिवार पनि बन्दछ भन्ने सोचसहित काम गर्नुपर्नेमा जोड दिए ।

कुनै पनि गलत काम गर्नेलाई पार्टीमा राख्नै हुँदैन कारबाही गर्नुपर्छ भन्दै उनले नेमकिपाले यही नीति लिएको र सहकारी ठगीदेखि गलत काम गर्ने जो कोहीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अपराधमा संलग्न भएकालाई राजनीतिमा ल्याउन नहुने बताउँदै उनले ख्वप विश्वविद्यालय स्वीकृत नगर्दा गरिब तथा जेहेन्दार विद्यार्थीहरू गुणस्तरसहितको उच्च शिक्षा र चिकित्सा शिक्षा पढ्नबाट वञ्चित हुनुपरेको भनी दुःख व्यक्त गरे । नेता बिजुक्छेले कम शुल्क लिई गुणस्तरीय शिक्षा प्रदान गर्ने सेवाभावका साथ प्रस्ताव गरिएको ख्वप विश्वविद्यालय देशकै लागि आवश्यक रहेको स्पष्ट गरे ।

उनले पहिलाभन्दा अझै गम्भीर र थप जिम्मेवारी बोधका साथ पार्टीलाई अगाडि बढाउने र देशभरि पार्टीको विचारलाई फैलाउन सोचका साथ केन्द्रीय नेतृत्व आफूले गर्ने र अरु जिम्मेवारी बाँडफाँट गरी अझै सक्रिय भएर देश र जनताका पक्षमा निःस्वार्थ रुपले सेवा गर्ने बताए ।

नेमकिपाका नवनिर्वाचित अध्यक्षले भने, “प्रदेशमा हामी त्यति सक्रिय थिएनौँ, अहिले प्रदेश समितिहरु व्यवस्थित रुपले काम गरिरहेका छन् । अब मधेस प्रदेशमा पनि सङ्गठन विस्तारको कामअघि बढ्छ र त्यहाँका जनतालाई राजनीतिक रुपले सचेत गर्दै पार्टीमा गोलबन्द गर्नेतर्फ ध्यान केन्द्रित गर्नेछौँ ।”

विदेशीलाई मात्रै दोष दिनुको सट्टा जिम्मेवार नेतृत्व पङ्क्ति सुध्रिनुपर्ने खाँचो औँल्याउँदै अध्यक्ष बिजुक्छेले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिने गरी देशमा समाजवाद स्थापना गर्नु नै नेमकिपाको लक्ष्य भएको स्पष्ट गरे ।

पार्टीको आठौँ महाधिवेशनले संस्थापक नेता बिजुक्छेको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गर्नुका साथै सातै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । महाधिवेशनले १२ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको अध्यक्ष बिजुक्छेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट