नेपिदअ । दक्षिण पुर्वी एसियाली मूलुक म्यानमारमा निर्वाचित प्रतिनिधिहरुलाई नियन्त्रणमा लिएर सेनाले शासन सत्ता हत्याएको आइतबार १४ दिन भएको छ ।
सेनाको उक्त कदमको देशभित्र र बाहिर गरि विश्वब्यापी रुपमा विरोध भइरहेको छ । आइतबार पनि म्यानमारमा हजारौंको सङ्ख्यामा मानिसहरु सडकमा निस्किएर विराध प्रदर्शन गरेका छन् ।
सेनाले शान्तिपूर्ण विरोध प्रदर्शनलाई बलपूर्वक दमन गर्ने प्रयास गरे पनि मानिसहरु स्वतस्फुर्त रुपमा सडकमा आएका बताइएको छ ।
म्यानमार स्थित नेपाली पत्रकार दिपक भट्टराईका अनुसार सैन्य कूको विरोधमा नेपालीभाषी बर्मेलीले पनि सोमबार जुलुशसहित प्रदर्शन गरेका छन् । ‘हामी बर्मेली गोर्खाली हौं। हामीलाई जुन्टा सत्ता मान्य छैन ।’ भन्दै प्रदर्शन गरेका हुन् ।
सेनाले आन्दोलनमाथि दमन गर्ने संकेत देखाएको भन्दै राती कर्फ्यु लागेका बेला सुरक्षाकर्मीले पक्राउ गर्ने डरले स्थानीयबासीले गस्तिसमेत गर्न थालेका छन् । सेनाले १२ फेब्रुअरी अर्थात राष्ट्रिय दिवसको दिन २३ हजार कैदीलाई जेलबाट छुटाएको छ । तिनलाई आन्दोलन भाँड्न प्रयोग गरिने प्रदर्शनकारीले बताएका छन् ।
त्यसबाहेक आन्दोलनकारीलाई जेलमा हाल्न जेल खालि गरिएको प्रदर्शनकारीको भनाइ छ । ।
धेरै प्रदर्शनकारी दुताबास र राष्ट्रसंघीय कार्यालय अगाडि रहेको बताइएको छ । प्रदर्शनकारीले विषेश गरि चिन र रुसका दुताबास अगाडि भेला भएर सैनिक सरकारलाई सहयोग नगर्न अपिल गरेका छन् । अन्य देशका दुताबासहरुसँग पनि प्रजातान्त्रिक आन्दोलनमा सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् ।
यसका अलावा घरमा पाहुना राख्नु अघि वार्डको स्वीकृति लिनुपर्ने र सुरक्षाकर्मीले बिना पुर्जी घर खानतलासी गर्ने तथा पक्राउ गर्ने पुरानो सैनिक ऐन ब्युताउँनुकासाथै सेनाले आफ्नो समर्थनमा जुलुश निकाल्ने प्रयास पनि गरिरहेको बताइएको छ । सेनाले नयाँ साइबर कानून ल्याउने तयारी गरिरहेको र त्यसले सामाजिक सञ्जाल तथा इन्टरनेट बन्द गराउन सक्ने त्रास रहेको समाचारहरुमा जनाइएको छ ।
गत नोभेम्बरमा भएको आम निर्वाचनमा ब्यापक धाँदली भएको आधारहीन दाबी गर्दै म्यानमारको सेनाले आङ साङ सुकी लगाएतका निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिइ एक वर्षको लागि संकटकालको घोषणा गर्दै फेबु्रअरी १ मा शासन सत्ता हत्याएको थियो ।