logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • माया शब्दभित्र लुकेको ‘माया’

    माया शब्दभित्र लुकेको ‘माया’

    15.6K
    Shares
    माया शब्दभित्र लुकेको ‘माया’

    थाहा छ हामीहरु एक हुन सक्दैनौँ, उसको जिन्दगीमा कोही अरु छ भने मेरो जीवनमा पनि । तर पनि उसले बोलाएको एक शब्दको ‘माया’ नामले मेरो लागि जिन्दगीमा दिएको खुशी सबै आफ्नाले दिएको खुसी भन्दा बढी थियो । अब लाग्छ जिन्दगीभर हाम्रो कुरा नभए पनि हाम्रो यो पवित्र सम्बन्ध कहिल्यै भुल्न नसक्ने बनेको छ ।

    दुई अक्षरको माया भन्ने शब्द जुन सुन्दा बित्तिकै के आउँछ मनमा एकैछिन आखा चिम्म गरेर सोच्नुस त ? सोच्नुभयो ? निश्चय पनि आफूले धेरै माया गर्ने मायालुको याद आयो होला हैन ? हो यो शब्द नै यति प्यारो छ कि मायामा परेका हामी जो सुकैलाई आफूलाई माया गर्ने मान्छेले यो शब्दले बोलाओस् भन्ने चाहाना हुनु स्वभाविक नै लाग्छ । मलाइ पनि यस्तै लाग्थ्यो । तर आफूलाई यो शब्दले बोलाउने कोही थिएनन् । मलाई आफ्ना माया गर्ने मान्छेले ‘निक नेम’ नदिएका पनि होइनन्, दिएका थिए । कसैले सानी भन्थे भने कसैले नानी, नानु, काली अहँ तर माया भनेर कसैले बोलाएनन् ।

    हुन त म घरमा पनि एक्ली छोरी थिइन् । त्यसकारणले पनि होला मेरो आमा बुवाले सधै मेरो नामले नै बोलाउनु भयो कल्पना, कल्पु । त्योभन्दा अन्य शब्द उहाँहरुबाट पनि सुन्न सकिएन । त्यसैले पनि होला सबै कुरा भएर पनि मलाई मायाको अभाव महसुस भइरह्यो । तर मेरो मिल्ने साथी रीताको केटा साथीले उसलाई माया भनेर बोलाएको सुन्दा, उसलाइ पठाएका म्यासेजहरु हेर्दा उ कति भाग्यमानी लाग्थ्यो । कास मलाई पनि कोही यस्तै माया भनेर बोलाउने मान्छे भए म पनि कति भाग्यमानी हुन्थे होला भन्ने लाग्थ्यो । यी यस्ता प्रश्नहरु मनमा खेलिरहेको हुन्थ्यो तर ब्यक्त गर्न भने कसैलाई सकेको थिइन् । प्राइभेट बैंकमा काम गर्ने म कार्यालय समयबाहेक फुर्सदको समयमा सामाजिक संजालमा एक्टिभ हुने बानी थियो । एकदिन इन्स्टाग्राम चलाइरहेको बेला एक जना अपरिचित ब्यक्तिले समसामायिक विषयमा स्टाटस लेखेको देखेँ । उक्त स्टाटसमा लाइक अनि कमेन्ट गरे । त्यसपछि उक्त व्यक्तिलाई फ्लोअप गरेँ । त्यसको एक महिनापछि एक दिन साँझ फोन चलाइरहेका बेला एउटा म्यासेज आयो ।

    हेलो ..

    मैले तुरुन्त रिप्लाइ दिएँ ‘हाई.. ।’

    त्यो म्यासेज मैले एक महिना अघि फलाे गरेको राजको थियो । उसको म्यासेज देखेर एकछिन अचम्म पनि लाग्यो । किनकि, मैले उसको म्यासेजको कैहिले पनि कल्पना गरेकी थिइनँ । पहिलो दिनको च्याटमा हाम्रो  सामान्य परिचय भएर सकियो । तर उक्त दिन मलाई उसँग कुरा हुन पाउँदा अन्य दिनमा भन्दा बेग्लै आभास भयो ।

    त्यसको दुई सातासम्म हाम्रो कुरा भएन तर कता-कता उसँग मलाई फेरि कुरा गर्न मन लाग्यो । अनि केही डरका बाबजुद नमस्ते लेखेर म्यासेज सेन्ट गरे । अनि उसको जवाफ आउला या नआउला भनेर कुरिरहेँ । साँझ पख मोबाइलमा म्यासेजको टोन बज्यो । हेरेको राजको म्यासेज  रहेछ । उसले लेखेको थियो : ‘नमस्ते के छ खबर ?’

    मैले तुरुन्तै रिप्लाइ दिएँ, ‘ठीक छ ।’

    उसले सोध्यो, ‘के गर्नुहुन्छ ?’

    मैले लेखेँ, ‘सामान्य काम ।’

    उताबाट रिप्लाई आयो, ‘हो र ?’ मैले भने, ‘होनी ..।’

    यस्तै यस्तै सामान्य कुराहरु भए । अन्तिममा उसले भन्यो, ‘तपाईसँग कुरा हुन पाउँदा खुशी लाग्यो ।’ खुशी त मलाई पनि लागेको थियो । भन्न मन थियो, हजुर भन्दा बढी मलाई खुशी लाग्यो भनेर । तर उसले के सोच्ला भनेर मनमनमा खुशी भए पनि उसलाई ‘होर’ मात्र भनेर जवाफ दिएँ । अरु केही भनिनँ । तर त्यस दिन साँझ भने म एकछिन पनि निदाउन सकिनँ । मलाई भित्रभित्र उसँग कुरा हुन पाउँदा धेरै खुसी लागेको थियो । अब कैले कुरा होला ? उसले मलाइ म्यासेज गर्ला कि नगर्ला ? यि यस्ता प्रश्नहरु मेरो मनमा खेलिरह्यो  । तर मैले सोचेको भन्दा बेग्लै भयो । बिहान मोबाइल खोलेर हेरेको ‘गुड मर्नीङ’को म्यासेज रहेछ । त्यो म्यासेज देखेर मेरो खुशीको सीमा रहेन । मलाई वषौ देखी छुटिएर बसेको व्यक्तिले म्यासेज गरेको खुशी मिलेको जस्तो लाग्यो ।अनि मैले पनि तुरुन्त रिप्लाई दिए ‘गुड मर्निङ’ भनेर, एउटा इमोजीसहित ।

    त्यस दिन पछि हाम्रो कुरा हुन थाल्यो । उसलाई फुर्सद भएको बेला ऊ म्यासेज गर्थ्यो, मलाई भएको बेला म । कहिलेकाहीँ कहाँ हो भनेर मैले सोधे भने ऊ मलाई फोटो पठाउँथ्यो । उसको फोटोमा उ कहा छ भन्ने रिप्लाई आउँथ्यो । खुशी लाग्थ्यो । मलाई जे मन पर्थ्याे, ऊ त्यहीअनुसारको म्यासेज गर्थ्याे । मैले मुखले ब्यक्त गर्न नसकेका कुराहरु मलाइ उसले म्यासेजमा लेख्थ्यो ।

    एकदिन हामी म्यासेजमा कुरा गरिहेका थियौ । उसले मलाई एक प्रश्न सोध्यो, ‘तिमीलाई घरमा के भनेर बोलाउँछन् ? म अचम्म परे । मैले भने, ‘मलाई मेरै नाम तथा कहिलेकाहीँ कल्पु सानी भनेर बोलाउँछन् । उसले हासोसहितको इमोजीसहित लेख्यो, ‘हो र ?’

    मैले लेखेँ, ‘हो ।’

    अनि उसले लेख्यो, ‘म तिमिलाई के भनेर बोलाऊँ ?’

    म अचम्म पर्दै भने, ‘हजुरलाई जे मन लाग्छ त्यही ।’

    उसले लेख्यो, ‘तिम्रो एकदम मायालु फेस छ, सो तिमीलाई म माया भन्छु है ?’

    ‘माया’ ओ… माई गड ।

    म स्तब्ध भए । मलाइ उसको शब्दबाट संसार जितेको फिल भयो । जुन शब्दले मलाई कसैले बोलाओस् भन्ने चाहन्थे, भगवानसँग प्रार्थना गर्थेँ, त्यही शब्द उसले मलाई दिएको थियो । त्यो शब्द सुन्दा मेरो आँखाभरी आँसु आयो । पहिलोपटक मैले आफूलाई भाग्यमानी ठानेकी थिए । मैले उसलाई लेखे, ‘यो शब्द मेरो लागि धेरै खास छ । अनि हजुरले यो शब्द मलाई दिनुभयो, जीवनमा सबै प्राप्त भएको आभास भयो ।’ उसले लेख्यो, ‘हो र ? मैले मनैबाट भनेको हो । धेरै नसोंच, अब सुत ल ।’ यति भनेर ऊ अफलाइन भयो । म भने रातभर निदाउन सकिनँ ।

    कतिबेला बिहान होला र उसले मलाई म्यासेज गर्ला भनेर कुरिरहे । बिहान ‘गुड मर्निङ माया’ भनेर म्यासेज आयो । पढेँ खुशी लाग्यो । आज त मेरो अनुहारमा बेग्लै चमक थियो । आज मन कति हो कति खुशी थियो, जुन शब्दमा ब्यक्त गर्न सक्दैनथेँ । उसले मलाई माया गरेर यो नाम दियो वा यत्तिकै थाहा छैन । तर म भने उसले दिएको यो नामले नै धेरै खुशी भए । थाहा छ हामीहरु एक हुन सक्दैनौँ, उसको जिन्दगीमा कोही अरु छ भने मेरो जीवनमा पनि । तर पनि उसले बोलाएको एक शब्दको ‘माया’ नामले मेरो लागि जिन्दगीमा दिएको खुशी सबै आफ्नाले दिएको खुसी भन्दा बढी थियो । अब लाग्छ जिन्दगीभर हाम्रो कुरा नभए पनि हाम्रोे यो पवित्र सम्बन्ध कहिल्यै भुल्न नसक्ने बनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend