एजेनसी । म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूलाई २० वर्ष सम्मको जेल सजाय साथै जरिवाना हुन सक्ने सेनाले चेतावनी दिएको छ । सैन्य नेतृत्व प्रति ‘घृणा वा अवहेलना’ फैलाएको पाएमा उनीहरूलाई यस्तो सजाय हुनसक्ने त्यहास्थित सेनाले जनाएको छ ।
म्यान्मारका विभिन्न सहरहरूमा हतियार सहितका गाडीहरू गुडिरहेका बेला कानुनमा भएका परिवर्तनको घोषणा गरिएको हो। सेनाले बोलेर, लेखेर वा साङ्केतिक सहित जुनसुकै रूपमा आफूहरूप्रति घृणा बढाउने काम गरेको पाए लामो जेल सजाय सहित जरिवानाको व्यवस्था गरिएको जनाएको छ।
आफ्नो वेबसाइटमा प्रकाशन गरिएको विज्ञप्तिमा उसले सुरक्षा निकायको काम कारबाहीमा अवरोध खडा गरेमा २० वर्ष सम्म जेल सजाय हुन सक्ने उल्लेख गरेको हो।
त्यस्तै सर्वसाधारणहरूमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीन देखि सात वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ। म्यानमारमा सेनाले गरेको उक्त कू विरुद्ध पछिल्ला दिनहरूमा विभिन्न सहरहरूमा हजारौँ सर्वसाधारणहरू प्रदर्शनमा उत्रिएका छन्।