काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको जनाउँदै पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बिआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने बताएका छन् ।
फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आज यहाँ आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा उनले यस्तो बताएका हुन् ।
बिआरआईलाई चिनियाँ ऋणको पासोका रुपमा केहीले टिप्पणी गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि वरदानसावित भएको जिकिर गरे ।
“बिआरआई नेपालका लागि महत्वपूर्ण प्रगति र समृद्धि हासिल गर्ने अवसर हो, यसलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ र सम्भावित फाइदाहरू बुझ्नुपर्छ”, नेता खनालले भने ।
नेपालका लागि चिनियाँ राजदूत छन सङले पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरण, नवप्रवर्तन र नवीनतम् ज्ञानको खोज, अनुसन्धानमा गरिरहेको प्रगतिका बारेमा जानकारी दिँदै नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए ।
डायलगअन्तर्गत नेपालमा विआरआई कार्यान्वयनः अवसर र चुनौतीलगायत विषयमा नेपाल र चीनका व्यवसायी, प्राध्यापकलगायतले छलफल गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस