logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पुनर्स्थापनामा अल्झिएका पौडेल र चुनावको पक्षमा रहेका देउवा

    पुनर्स्थापनामा अल्झिएका पौडेल र चुनावको पक्षमा रहेका देउवा

    1.7K
    Shares

    कठमाडौं । प्रतिनिधिसभा विघटन र चुनावको घोषणाको विषयमा कांग्रेसभित्र बढेको मतभेद बुधबार केन्द्रीय कार्यसमिति बैठकमा पनि उजागर भएको छ । यस विषयमा सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेलबीच चर्काचर्की  भयो ।

    सरकारले प्रतिनिधि सभा विघटन गरेर अलोकतान्त्रिक, असंवैधानिक काम गरेको भनेर नेपाली कांग्रेस पार्टीले आन्दोलनका कार्यक्रम गरिरहेको छ । अहिले पनि पार्टीको आधिकारिक धारणा प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्ने हो, तर पनि सभापति देउवा भने चुनावका पक्षमा छन् । उनले चुनाव भए चुनावमा जाने र संसद पुनर्स्थापनाको एजेण्डा पार्टीले नबोक्ने धारणा व्यक्त गर्न थालेका छन् ।

    पार्टीको आधिकारिक धारणा बुझ्ने हो भने नेपाली कांग्रेस कुन पक्षमा ? प्रस्ट छ, प्रतिगमन र अलोकतान्त्रिक कदमको विरुद्धमा । प्रतिनिधिसभा विघटनको विरोधमा पार्टी आन्दोलनमा छ ।

    बुधबार केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेसको विधान अनुसार महाधिवेशन हुन नसकेकोले ६ महिना म्याद थप गरेर आगामी भदौ ७ गतेदेखि १० गतेसम्म महाधिवेशन गर्ने भन्ने प्रस्ताव पारित गर्ने योजना देउवाको रहेको थियो । यसै अनुसार प्रस्ताव पनि गरिएको छ । बिहीबार पुनः बैठक बसेर यो विषय टुंग्याइने भएको छ ।

    महाधिवेशनको टुंगो लगाउन बसेको बैठकमा संसद पुनर्स्थापनको विषय चर्चामा रह्यो । नेता पौडेलले संसद पुनर्स्थापनाको पक्षमा पार्टी उभिनुपर्छ भनेपछि देउवाले असहमति जनाएका थिए । 

    अदालतले चुनाव गराउने फैसला गर्‍यो भने हामी किन डराउने ? चुनावमा जाने हो, यदी ६ महिनामा चुनाव हुन सकेन भने त्यसपछि आन्दोलनमा जाउँला भन्ने देउवाको तर्क थियो । नेपाली कांग्रेसले संविधान विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भनेर विभिन्न ठाउँमा सडक आन्दोलन राखे पनि देउवाले चुनावको पक्षमा भाषण गरिरहेका छन् ।

    पार्टी सभापति चुनावको पक्षमा भइरहेका बेलामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, मिनेन्द्र रिजाल, गगन थापालगायतका नेताहरु भने सडकमा संसद पुनर्स्थापनामात्र विकल्प रहेको भनि भाषण गरिरहेका छन् ।

    पार्टीको आधिकारिक धारणा बुझ्ने हो भने नेपाली कांग्रेस कुन पक्षमा ? प्रस्ट छ, प्रतिगमन र अलोकतान्त्रिक कदमको विरुद्धमा । प्रतिनिधिसभा विघटनको विरोधमा पार्टी आन्दोलनमा छ ।
     
    संसद विघटनविरुद्धको आन्दोलनमा चुनावको पक्षमा देउवाको भाषण

    नेपाली कांग्रेसले विभिन्न चरणमा अहिले गरेको आन्दोलन प्रतिनिधिसभा विघटनको विरुद्धमा हो । आफ्ना कार्यकर्ता सम्बोधनका क्रममा पार्टी सभापति सरकारको चर्को आलोचना गरिरहेका छन् तर पनि उनी चुनावको पक्षमा छन् । गएको सोमबार कांग्रेसले गरेको देशव्यापी विरोधसभा कार्यक्रममा भैरहवाबाट देउवाले निर्वाचन आयोगले चुनावको तयारी नगरेको भनी असन्तुष्टि जनाए । उनले कार्यक्रमका लागि राखिएको ब्यानरकोसमेत वास्ता नगरी र आफ्नो पार्टीको धारणा बेवास्ता गरेर चुनावी सभाको झल्को दिने किसिमको सम्बोधन गरे ।

    निर्वाचनको तयारी नगरेकोमा आयोगप्रति असन्तुष्टि जनाएका देउवाले अदालतले भन्दा पनि आयोगले बदमासी गर्न सक्ने आरोप पनि लगाए । निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचनका कार्यक्रम बाहिर ल्याउँदैन ? भन्ने उनको गुनासो रहेको थियो । उनी तोकिएको मितिमा चुनाव नहुने पो हो कि भन्नेमा सशंकित देखिन्थे ।

    पुनर्स्थापनाको पक्षमा वक्तव्य दिएर बृहत प्रदर्शन गर्न पौडेलको माग

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेर चुनावकाे घाेषणा गरेकाे उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भने पनि कांग्रेसले अहिलेसम्म निर्वाचन वा पुनर्स्थापना कुनै पनि पक्षमा औपचारिक निर्णय गरेको छैन । यो अलमलको मुख्य कारण हुन् सभापति शेरबहादुर देउवा । 

    पार्टीका उपसभापति विमलेन्द्र निधि पनि देउवाको लाइनमा छन् । उनी पनि चुनावको तयारीमा लागिरहेका छन् । बेला बेलामा दिने अभिव्यक्तिमा उनले पनि निर्वाचन आयोगले चुनावको तयारी नगरेको आरोप लगाइरहेका छन् ।

    बुधबारको कार्यसमिति बैठकमा वरिष्ठ नेता पौडेलले संविधानविरुद्ध काम भयो भन्ने तर त्यसलाई सच्याउनुपर्छ भन्न नसक्ने हो भने सभापतिमाथि प्रश्न उठ्न सक्ने बताएका छन् । उनले अलमल नगरी संसद पुनर्स्थापनाको पक्षमा वक्तव्य दिएर बृहत प्रदर्शन गर्न माग गरेका छन् । उनले कांग्रेसले प्रष्ट निर्णय नगरेका कारण अदालतसमेत अलमलमा परेको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन् । उनले संवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने पक्षमा पार्टी उभिनुपर्ने धारणासमेत राखेका छन् ।

    देउवाको दाउ 

    सभापति देउवाका भने दुइटा दाउ छन् । विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेर पार्टीले निर्णय गरेको छ । यो देउवाको पनि धारणा हो । तर, उनी चुनावमा जान लालायित छन् । चुनावी सभा ठानेर सभामा सम्बोधन पनि गरिरहेका छन् । सिधा अर्थमा भन्ने हो भने उनी यतिबेला चुनाव प्रचार प्रसारमा छन् ।

    २०७४ सालको निर्वाचनमा देउवाको नेतृत्वमा होमिएको कांग्रेसले पराजय भोगेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताले हारको दोषी देउवा रहेको बताउने गरेका छन् । यो सिलसिला अहिले पनि कायम छ ।

    देउवाका लागि यो चुनाव आफूमाथि लागेको कलंकको टीका मेटाउने अवसर पनि भनेर बुझ्न सकिन्छ । यतिबेला नेकपा फुटेको छ । तत्काल नै राजनीतिक स्थिरताको पक्षमा भोट माग्न नेकपाका दुवै पक्षका लागि असहज छ ।

    विगत हेर्ने हो भने पनि मध्यावधि निर्वाचनको परिणाम प्रमुख प्रतिपक्षी दलको पोल्टामा गएको नेपालको इतिहास छ । देउवाले यही हेरेर चुनावको तयारी गरिरहेको र चुनावको पक्षमा रहेको अनुमान लगाउन सकिन्छ । अहिले नेकपाको कुनै पक्षमा पनि नलागेका देउवाको एक्लै बहुमत ल्याउने प्रयास पनि देखिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend