एजेन्सी । म्यानमारमा फेब्रुअरी १ तारिखमा सैन्य ‘कू’ भएपछि दैनिक हजारौँ प्रदर्शनकारीहरुले विभिन्न सहरहरुमा विरोध गर्दै आएका छन् । सत्ता हातमा लिएर शीर्ष नेताहरु पक्राउ गरेपछि सेनाको कदमविरुद्ध प्रदर्शन भइरहेको छ । उनीहरुले नेत्री आङ सान सू ची सहित अन्य जन निर्वाचित नेताहरूको रिहाइको माग गरिरहेका छन्।
यसैबीच याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्। अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको हो ।
बुधवार आयोजना गरिएका प्रदर्शनले याङ्गुनको ट्राफिक व्यवस्थालाई लगभग निष्क्रिय पारिदिएको थियो। सामाजिक सञ्जालमा जानाजान सडक अवरुद्ध पार्न गरिएको आह्वानले बुधवार बिहानैबाट बल पाउन थालेको थियो।
सरकारी कर्मचारीलाई कार्यालय जान अनि सुरक्षा निकायहरूको हिँडडुल प्रभावित पार्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो।