आइतबार, चैत्र १७ २०८१

आइतबार, चैत्र १७ २०८१

के भएको थियो कुलमान हटाउने क्याबिनेटमा ?

के भएको थियो कुलमान हटाउने क्याबिनेटमा ?

काठमाडौं । गत सोमबारको क्याबिनेटले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङलाई बर्खास्त गरेको छ । नेपाल सरकारले चार महिनामात्र बाँकी रहेका व्यक्तिलाई किन बर्खास्त गरेको भनेर विपक्षीहरुले विरोध गरिरहेका छन् भने सरकारले भने प्राधिकरणमा भ्रष्टाचार बढेको र कुलमानले विद्युत वितरणदेखि लिएर अन्य क्षेत्रका सिन्डिकेटमा उनको गम्भीर प्रकृतिको संलग्नता पाइएकाले चार महिना पनि पदमा राखिराख्न उपयुक्त नदेखिएको तर्क दिएको छ ।

तर यहाँ उल्लेख गर्न खोजिएको प्रसंग चाहिँ कुलमान हटाउने गत सोमबारको मन्त्रिपरिषदको बैठकमा के भएको थियो भन्ने बारेको हो । मन्त्रिपरिषद स्रोतले उपलब्ध गराएको सूचना अनुसार कुलमानलाई बर्खास्त गर्न उद्योगी व्यवसायीको प्रभावमा परेका गृहमन्त्री रमेश लेखकले नै बढी दबाब दिने गरेका थिए ।

नेपाल सरकारले उनलाई हटाउन गएको करिब ६ महिनादेखि नै चाहेको थियो । किनभने उनले उर्जामन्त्रीको आदेश नमान्ने र केही नयाँ कामका लागि भन्दै मन्त्री दीपक खड्काले दिएको आदेशको पनि अवज्ञा गर्ने गरेका थिए । कुनै कामका लागि उनलाई मन्त्रालयले आदेश दिँदा उनले आफूले गर्न नसक्ने भएपछि सरकारले दबाब दियो भनेर मिडियामा सार्वजनिक गरिदिने अथवा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सूचना दिने गर्दथे । कुलमान माथि यो आरोप बिगत देखि नै मन्त्री खड्काले लगाउँदै पनि आएका थिए । उनले सबै समाचार बाहिर लगेको र माओवादी नेतृत्वमा विद्युत प्राधिकरणका विषयमा दिनदिनै छलफल हुने गरेको गुनासो मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि गर्ने गरेका थिए । त्यसैले सरकारले कुलमानलाई हटाउन लाग्यो भनेर कुलमानको पक्षमा नेपालका मिडियाले समाचार लेख्दै पनि आएका थिए ।

सरकार अघिल्लो हप्ता नै कुलमानलाई हटाउन चाहन्थ्यो । त्यतिबेला परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारत भ्रमणमा थिइन् । उनले नेपालमा विद्युत निर्यात गरिरहेको भारतीय कम्पनीसमक्ष कूटनीतिक पहलमार्फत् नेपाललाई दिइरहेको विद्युत कटौती नगर्न र थप विजुली उपलब्ध गराउन आग्रह गरेकी थिइन् । उनी भारतमा रहेका बेला उर्जा मन्त्री खड्काले फोन गरेर सो भारतीय कम्पनीसँग कूटनीतिक पहल गरिदिन आग्रह पनि गरेका थिए ।

नेपालमा अब भारतबाट विजुली नआउने भएपछि लोडसेडिङ हुनसक्ने कुरा मन्त्री खड्काले सार्वजनिक रुपम नै दिएकाले लोडसेडिङ नहोस् भनेर आफू भारतमै रहेका बेला मन्त्री डा देउवाले सो कूटनीतिक पहल गरेको जानकारी उनले नेपाल फर्किएपछि एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा दिएकी थिइन् ।

उनीसँग भारतको सो निकायले नेपालको विद्युत प्राधिकरणले यसवर्ष पनि विद्युत खरिदलाई निरन्तर गर्नुपर्ने भए फेब्रुअरीमा नै फलोअप गर्नुपर्नेमा त्यसो नगरेकाले सो विद्युत अन्यत्रै बिक्री गर्न लागिएको जानकारी दिएको बताएको उनको भनाई थियो ।

ठीक त्यति नै बेला अर्थात अघिल्लो क्याबिनेटमा नै कुलमान हटाउने प्रस्तावका लागि गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँग लबिङ गरेका थिए । तर स्पष्टिकरणको केही प्रक्रिया पूरा गर्न बाँकी रहेको भनेर उर्जामन्त्रीले नै आगामी बैठकमा ल्याउने बताएका थिए ।

त्यसपछि गत सोमबारको मन्त्रिपरिषदको सुरुमै कुलमानको प्रस्ताव छ कि छैन भनेर गृहमन्त्रीले नै सबैभन्दा पहिला चासो व्यक्त गरेका थिए । त्यो प्रस्ताव रहेको थाहा पाएपछि उनी आफ्नो घरायसी कामको फोन आएको भनेर प्रधानमन्त्रीसँग कानेखुसी गरेर केही समय बैठक कक्षबाट बाहिरिएका थिए । बैठक सुरु हुनासाथ गृहमन्त्री बाहिर निस्किएको देखेर बैठकमा उपस्थित मन्त्रीहरु एक आपसमा मुखामुख गरेका थिए । तर मन्त्री लेखक भने केही मिनेटपछि नै बैठकमा फर्किएका थिए ।

बैठकमा फर्किएपछि उनी केही नबोली बसेको एकजना मन्त्रीले बताए । ती मन्त्रीले भने– ‘कुलमानलाई हटाउने प्रस्ताव मन्त्रिपरिषदको सुरुमै आएपछि एकैछिन यस विषयमा मन्त्रीहरुका बीचमा कुराकानी भएको थियो । प्रायः सबैजसो मन्त्रीहरुले उनलाई हटाउनुपर्छ भन्ने पक्षमा नै मत राखेका देखिन्थे । यत्तिकैमा उद्योगमन्त्री दामोदर भण्डारीले कुलमानका कारण नेपालमा महंगी बढेको र उद्योग व्यवसाय क्षेत्र तहस नहस हुन पुगेको तर्क राखेका थिए ।’

उद्योगमन्त्री भण्डारीले नेपालमा विद्युत खपतको अवस्था कम भए पनि उद्योग कलकारखानालाई भने कुलमानले तीस रुपैयाँ युनिटको मात्र बिजुली जोडिदिने गरेकाले बिजुलीका कारण नै उत्पादनको लागत मूल्य बढेको र यस विषयमा उद्योगी व्यवसायीहरु आफूकहाँ निकै गुनासो गर्न आउने गरेको बताएका थिए । उनको तथ्यांक र डाटा सहितको यो प्रस्तुतिपछि लगभग सबैजसो मन्त्रीहरु कन्भिन्स भएका थिए ।

कुलमानले उद्योगीहरुको लाइन आफूखुसी काट्न नसक्ने भएपछि पछिल्लो पटक उनीहरुसँग यसरी प्रतिशोध लिने गरेको फेहरिस्त मन्त्री भण्डारीले अघिल्लो मन्त्रिपरिषद बैठकमै पेश गरेका थिए ।

उद्योग मन्त्रालयबाट उनीहरुको समस्याको समाधान नभएपछि व्यवसायीहरु आफूकहाँ आएर गुनासो गर्ने गरेको गृहमन्त्री रमेश लेखकले पनि बारम्बार बताउने गरेका थिए । यो कुरा मन्त्री लेखकले मन्त्रिपरिषदका बैठकहरुमा बारम्बार प्रधानमन्त्रीलाई सुनाउने गरेका थिए । त्यसकारण पनि मन्त्री लेखकले गत सोमबार भन्दा अघिल्लो बैठकमा नै कुलमानको प्रस्ताव ल्याउन उर्जामन्त्रीलाई भनेका थिए ।

एक मन्त्री भन्छन्– ‘बाहिर समाचार त के कसरी आयो थाहा भएन, तर पनि कुलमान हटाउनका लागि सबैभन्दा बढी गृहमन्त्री नै लागिपरेका थिए ।उनी कांग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई कन्भिन्स गर्न पटक पटक वुढानीलकण्ठ जाने गरेका थिए ।

उनी कुलमानका विरुद्धमा केही उद्योगी व्यवसायीको प्रभावमा धेरै पहिले देखि नै लागि परेका थिए ।’

क्याबिनेटमा कुलमान हटाउने प्रस्ताव देखेपछि केही समय बाहिरिएका लेखकले नै आफ्ना पक्षमा समाचार लेखाएको अनुमान ती मन्त्रीले गरे । उनले भने‐ ‘मन्त्रिपरिषदमा कुलमान हटाउने प्रस्तावका लागि बारम्बार प्रधानमन्त्रीसँग लबिङ गर्ने गरेका गृहमन्त्री लेखकले नै कुलमानको पक्षमा बोलेको भनेर बाहिर समाचार आएको देख्दा अचम्म लाग्यो ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend