काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्धामा एमिकस क्युरीको रुपमा चयन भएकी वरिष्ठ अधिवक्ता गीता पाठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्न सर्वोच्च अदालतको संवैधनिक इजालसलाई राय दिएकी छन् । शुक्रबार आफ्नो राय प्रस्तुत गर्दै उनले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई अपराधसंग तुलना गरिन् ।
नेपालको संविधानमा प्रतिनिधिसभा विघटन सम्बन्धी व्यवस्था नै नभएको उल्लेख गर्दै संसद विघटन अपराधनै भएको राय राखिन।
तर, पाठकले ‘अपराधै हो’ भन्ने तर्क वा टिप्पणीबारे थप व्याख्या गरिनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गर्दा संविधानको गलत धारालाई आधार लिएको उनको जिकिर छ ।
‘संविधानको धारा ८५ स्वतन्त्र धारा होइन् । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६(१) अन्तर्गतको बहुमतको प्रधानमन्त्री हुनुहुन्छ । उहाँले संविधानको धारा ७६(७) प्रयोग गर्न सक्नुहुन्न’ पाठकले भनिन् ।’
प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्रीबाट भएको सिफारिस र राष्ट्रपतिबाट घोषणा हुँदाको विज्ञप्तिमा समेत प्रश्न उठेको बताइन् ।
‘संविधान कोमामा गएको छैन’
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्वाको बहसमा नेपालको संविधान बिरामी परेको टिप्पणी जस्ता टिप्पणी भएका थिए ।
वरिष्ठ अधिवक्ता पाठकले त्यस्ता टिप्पणीको खण्डन गरिन् । ‘यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौं । हामी सबै कोमामां छौं’ उनले भनिन्, ‘त्यसो होइन श्रीमान ।’
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्वामा प्रधानमन्त्री ओलीका तर्फबाट बहस गरेका नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले संविधान बिरामी परेको बताएका थिए ।
‘संविधानले फंक्सन गर्न सकेन भने, अड्कल लगाएर हामी निर्णयमा पुग्न सकेनौँ भने भोलि त्यसको नकारात्मक परिणाम र प्रभाव भोग्नुपर्छ । यो संविधान बिरामी परेको छ’ घिमिरेले भनेका थिए ।
‘…म क्रिया खान कहाँ सक्छु र !’
राय प्रस्तुत गर्दै गर्दा वरिष्ठ अधिवक्ता पाठकले स्वरसम्राट नारायणगोपालले गाएको गीत सम्झिइन् ।
‘यहाँ धेरै सायरी आए तर खासमा यहाँ सुहाउने त स्वरसम्राट नारायण गोपालको गीत, तिमीले भनेका सारा देव छोएर, म क्रिया खान कहाँ सक्छु र भन्ने चाहिँ सुहाउँछ,’ पाठकले भनिन् ।
‘यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौं,’ इजलासमा पाठकले भनिन्, ‘हामी सबै कोमामा छौँ । संविधान र त्यसका धाराले हामीलाई अक्सिजन दिन्थे ।’
यसअघि मुद्धाको पक्ष र विपक्षमा बहस गर्ने कानुन व्यावसायीहरुले पनि गीत, सायरीहरु सुनाएका थिए ।
रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वटा संविधानसभाले बनाएको संविधान बिर्सन नसकिने सन्दर्भ जोड्दै गायिका अन्जु पन्तको गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’ भन्ने सुनाएका थिए ।
निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले मिर्जा गालिबको सायरी सुनाएका थिए ।
रिट निवेदकले संसद पुनस्थापना हुनुपर्छ भनेर तर्क गरेको तर्फ संकेत गर्दै महान्यााधिवक्ता अग्नि खरेलले प्रकाश पौडेलले गाएको गीत ‘नाई आमा मलाई त्यही केटी चाहिन्छ’ भन्ने सुनाएका थिए ।
‘जनताका बीचमा जाने घोषणा गर्दा पनि त्यही संसद चाहिन्छ भन्ने निवेदकलाई यही गीत सुहाउँछ’ खरेलले भनेका थिए ।
बहस सकियो, अब फैसला
एमिकस क्युरीका तर्फबट पाठकले राय प्रस्तुत गरेसंगै प्रतिनिधिसभा संसद विघटनसम्बन्धी मुद्धामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।
बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।
अब फैसला आउनेछ । फैसला कहिले आउँछ भन्ने सम्बन्धमा प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘१० गतेभित्र बहस नोट आउँछ । त्यसपछि हेर्दाहेर्दैमा जान्छ । ११ गते,१२ गते जति पनि जान सक्छ ।’
१० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।
फागुन ११ गतेभन्दा पछि कुनै पनि दिन फैसला आउन सक्ने प्रधानन्यायाधीश जबराले बताएका हुन् ।