सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

अन्तर्वार्ता :

कांग्रेस, एमाले र माओवादीले राजालाई चलाएर गलत नगरुन् : राप्रपा अध्यक्ष लिङ्देन

कांग्रेस, एमाले र माओवादीले राजालाई चलाएर गलत नगरुन् : राप्रपा अध्यक्ष लिङ्देन

'दुर्गा प्रसाईं सरकारकै सहयोगमा भागेका त होइनन् भन्ने शंका छ'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिन सक्ने दाबी गरेका छन् । चैत १५ गते तीनकुने घटनाको सन्दर्भमा बोल्दै उनले त्यस दिन आन्दोलनकारीको भन्दा सरकार धेरै दोषी भएको आरोप लगाए । सुनौलो नेपालसँगको कुराकानीका क्रममा उनले कांग्रेस, एमाले र माओवादीले आफ्नो विगतको कमजोरी लुकाउन अहिले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएको पनि दाबी गरे । राजालाई चलाए गणतन्त्रवादी दलले ठुलो मूल्य चुकाउनुपर्ने लिङ्देनको दाबी छ । पछिल्लो घटनाक्रम र आन्दोलनका बारेमा सुनौलो नेपालले राप्रपा अध्यक्ष लिङ्देनसँग गरेको संवादलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

राजसंस्था ब्युँत्याउने आन्दोलन सकिएको हो कि जारी छ ? आगामी दिनमा कसरी अघि बढ्छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निःस्वार्थ राजासहित हिन्दुराज्यको एजेन्डा बोकेको छ । विगतदेखि नै यो आन्दोलन देशभर भइरहेको छ । जहाँ जनताको ठूलो सहभागिता छ । बढ्दै पनि गएको छ । आगामी दिनमा यही मुद्दा स्थापितका लागि आन्दोलन अघि बढ्छ र जारी छ । जबसम्म राजाका लागि व्यवहार सुधार र यसको टुङगो लाग्दैन तब सम्म आन्दोलन जारी रहन्छ । यसको नेतृत्व राप्रपाले गर्छ । गणतन्त्रको विरोध मात्रै होइन, जनताले यो व्यवस्था उल्ट्याउँछन् ।

तीनकुने घटनापछि राजावादी आन्दोलनको औचित्य सक्यो भनेर बहस सुरु भयो नि ?
गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आन्दोलनकारीले मात्रै नभई सरकारले पनि ज्यादती गरेको हो । पछिल्लो समय सार्वजनिक भएका भिडियोबाटै प्रमाणित भइसक्यो । कांग्रेस, माओवादी, एमाले भन्नेहरू भजन किर्तन गर्दै आएको हो ? तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ? उहाँहरुको इतिहास हेर्नुहोस्, उहाँहरुले तीनकुनेको प्रदर्शनमा घुपपेठ गराएर आन्दोलन भड्काएको छ । यो घटना जनताले बुझिसके । १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यसको नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? अब झन् ठुलो आन्दोलन हुन्छ ।

आन्दोलनका लागि तोकिएका कमान्डर दुर्गा प्रसाईं आफैं प्रहरीहरु नै हताहत हुने गरी गाडी कुदाउँदै हिँडे नि ! यस विषयमा तपाईहरुको धारण के छ ?
अब यस विषयमा धेरै बहस नगरौँ, विस्तारै समिक्षा हुँदै जान्छ । कमान्डर भनिने मान्छेबाटै अराजक गतिविधि भयो भन्ने प्रश्नमा चाहिँ, नेतृत्व गर्ने व्यक्ति जहिले पनि संयमित हुनुपर्छ, यो गलत हो । आन्दोलनकारीमाथि आक्रमण भएपछि उहाँ आवेगमा आउनु भएको होला । उहाँलाई नियन्त्रणमा नलिनु प्रहरी र राज्यको कमजोरी हो । दुर्गाले गाडी कुदाउँदै आए पनि उहाँ त फन्दामा परिसकेका थिए । तर आजसम्म किन नपक्रिएको हो ? जिज्ञासा सर्वत्र छ । तर दुर्गा आउनुअघि नै टियर ग्यास किन ? शान्तिपूर्ण मञ्चमा प्रहरीले किन छतबाट टियर ग्यास हान्यो ? दुवै पक्षले जिम्मेवारी लिनुपर्छ ।

सरकारले राजावादी आन्दोलनमा जनतालाई नजान अपिल ग-यो । यस विषयमा तपाईको धारण के छ ?
१५ गते आन्दोलनकारीको ज्यादती होइन, यो प्रदर्शनमा सरकारले पहिला गोली चलाएको छ । यो प्रष्ट भइसक्यो कि अब सरकारले उक्त घटना ढाकछोप गर्न यस्तो घोषणा गरेको हो । सरकारले रोक्दैमा जनता आन्दोलनबाट पछि हट्नेवाला छैन । सरकारले आन्दोलन रोक्नुमा ठुलो रहस्य लुकेको छ । गणतन्त्रवादी पार्टीहरु राजाको पक्षमा माहोल बन्दै गएपछि डराएका मात्र हुन् । उनीहरुसँग आन्दोलन नै छेक्ने क्षमता छैन । तीनकुने घटनापछि सरकारमाथि प्रश्नै–प्रश्न छ तर जवाफ खोई ? तपाई नै भन्नुहोस्, यस घटनामा सरकार मौन बस्न मिल्छ ? यहाँ दुई जनाको ज्यान गएको छ । यो सामान्य विषय सरकारले ठान्यो ।

कमान्डर तोकिनु भएका प्रसाई त भाग्नुभयो नि ! यस विषयमा तपाईको धारण के ?
उहाँ पहिलेदेखि नै विवादित व्यक्ति हुन् । उहाँ भाग्नु हुन्न थियो । सबैभन्दा पहिले उनी पक्राउ पर्नु पर्ने हो तर भागे । उनी भाग्नुमा सुरक्षा व्यवस्था कमजोर हो । यसको पनि रहस्य पछि खुल्दै जाला । मलाई त लाग्छ उनी कत्तै सरकारकै सहयोगमा त भागेको होइनन् ? यसको जवाफ सरकारले दिनुपर्छ ।

कांग्रेस, माओवादीका शीर्ष नेता र प्रधानमन्त्री केपी ओलीले त संसदमा बोल्दै तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र जिम्मेवार भएको आरोप लगाउनु भयो नि ?
यो सबै जनता झुक्याउने वाहाना हो । उहाँको आरोपको प्रतिक्रिया जनताले दिएका छन् । प्रहरीले सादा पोशाकमा छतमा बसेर गोली र अश्रु ग्यास हान्नुपर्ने अवस्था कसरी आयो ? अघिल्लो दिन स्वयंम प्रधानमन्त्रीले १०/१५ हजार मानिस आउँछन् भन्ने कुरा गर्नुभएको थियो । १५ हजार आँकलन गरेको ठाँउमा पछि सरकारले किन सुरक्षा परिचालनमा चुक्यो ।

अब यसको दोष निर्दोष राजामाथि लगाउनु भनेको उक्त घटना ढाकछोप गर्नु मात्र हो । त्योभन्दा बढी क्षमता यो सरकारको देखिएन । सरकारनै त्रासमा देखियो । त्यही भएर राजालाई नजरबन्दमा राख्ने, पक्रिने अपवाह फैलाएका मात्र हुन् ।

तीनकुने आन्दोलनपछि तपाईहरुकै पार्टीको महामन्त्री र वरिष्ठ उपाध्यक्ष पक्राउ परे । यस विषयमा तपाई के भन्नु हुन्छ ?
शुक्रबार काठमाडौंमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर पक्राउ परेका छन् । उनीहरुविरुद्ध राज्यविरुद्ध तथा संगठित अपराधमा अनुसन्धान भइरहेको छ । यस्तो घटनामा कति एमाले, कांग्रेस र माओवादीका नेताहरु सलंग्न छन् । पहिलो कुरा निपष्क्ष छानबिन गरेर मात्र पक्रिनुपर्ने हो । यो राज्यको ज्यादती मात्र हो । उहाँले बोलेकै भरमा यति ठुलो घटना घट्यो भन्ने सरकारसँग के छ प्रमाण ? सरकारले जनतामा भ्रम छर्न यस्तो गरेको हो ।

राप्रपाले २६ चैतमा र २०८२ को वैशाख ७ मा आफ्नो आन्दोलन पनि घोषणा गरिसकेको छ, आन्दोलनको तयारी कस्तो छ ?
राजसंस्था र हिन्दूराष्ट्रका लागि आन्दोलन हुन्छ तर शान्तिपूर्ण र अहिंसात्मक हुन्छ । त्यो सँगसँगै सुशासन र विकास चाहिएको छ, त्यही भएर आन्दोलन शान्तिपुर्ण हुन्छ । हामीले परिकल्पना गरेको समाज कस्तो हो भन्ने विषयमा पनि जनतालाई बुझाउन ुपर्नेछ । राप्रपाले जहिले पनि शान्तिपूर्ण आन्दोलन गर्छ ।

राजतन्त्रको पुनस्र्थापना मात्रै होइन, राज्यसंरचना र निर्वाचन प्रणालीमा आमूल परिर्वतन गर्नु जरुरी छ । प्रजातन्त्र र राजसंस्था एकअर्काका विकल्प होइनन्, परिपूरक हुन् । सँगै मिलेर जान सक्छन् । दुनियाँमा यस्ता उदाहरण प्रशस्त छन् ।

आज सरकारलाई पाँच बुँदे माग राख्दै गृहमन्त्रीको राजीनामा माग्नुभयो, के के छन् माग ?
राप्रपाले चैत १५ गते तीनकुने र आसपासका क्षेत्रमा भएको घटनालाई दमन गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गर्न माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको पनि राजीनामा माग गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी हामीले यस्तो माग गरेका हौँ । यसैगरी राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवलशमशेर राणालगायत अन्यमाथिको झुठा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइको माग पनि गरिएको छ ।

राप्रपाले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठनको माग छ । उक्त घटनाको छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग, आन्दोलनलाई दमन गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बनको माग राप्रपाको छ । साथै, प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्ने माग राखेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend