विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐन संशोधन तथा नयाँ ऐन निर्माण गरेर कोशी प्रदेशमा लगानीको वातावरण बनाउने बताएका छन् ।
उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले आयोजना गरेको प्रदेशको आर्थिक अवस्था, लगानीको सम्भावना र चुनौती विषयमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले लगानीमैत्री वातावरण बनाउनको लागि लगानी सम्मेलनलाई लक्षित गर्दै सात वटा ऐन संशोधनको तयारी गरेको बताए । उनले लगानीको वातावरण बनाउनका लागि आगामी अधिवेशनबाट नयाँ कानुन निर्माण र संशोधनलाई प्राथमिकतामा राखिने उल्लेख गरे ।
सरकार लगानीको वातावरण बनाउन तयार रहेको बताउँदै कार्कीले प्रदेश सरकारले गर्ने सबै खालका सहयोग हुने र संघीय सरकारबाट गर्नुपर्ने समन्वयका काम पनि गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे । निजी क्षेत्रलाई सँगसँगै लिएर हिड्न सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री कार्कीले लगानीकर्ताको लगानीको सुरक्षाको लागि सहयोग गर्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस