२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

भारत र पाकिस्ताबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा सांसदहरूको जोड, कसले के भने ?

बुधवार , बैशाख २४, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गरे ।

उनले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको औँल्याए । संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उनले जोड दिए ।

सांसद गौतमले राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावारको त्रास बढिरहेको, पछिल्लो तीन महिनामा बर्दियामा चितुवाको आतङ्कबाट दुई जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका भन्दै जङ्गली जनावरबाट नागरिकलाई सुरक्षित गर्नेगरी वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले सरकारले दृढ सङ्कल्पसहित नयाँ योजना र कार्यक्रमका साथ नीति तथा कार्यक्रम ल्याएको भन्दै यसलाई पारित गराउनेतर्फ सकारात्मक पहल हुनुपर्ने धारणा राखे । सरकारले हिम्मत र साहसका साथ परम्परागत नीति तथा कार्यक्रमलाई क्रमभङ्ग गर्दै ल्याएको उनको भनाइ छ ।

सांसद मैनालीले प्रतिपक्षी दलका सांसदले तथ्यपरक र सत्यपरक भनाइ राख्दै नीति तथा कार्यक्रममाथि सकारात्मक टिप्पणी गर्नुपर्नेमा धारणा राखे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र मुलुकको आर्थिक विकासका लागि राजनीतिक दलहरूबीच साझा धारणा र दृष्टिकोणका साथ अगाडि बढ्न आवश्यक रहेको औँल्याए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रुपा सोशी (चौधरी)ले ठूलाठूला भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न सरकार सक्रिय हुनुपर्नेमा जोड दिइन् । समाजवादोन्मुख अर्थव्यवस्थामा लैजान निजीकरणभन्दा सार्वजनिक निजी साझेदारी ढाँचालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन् । नेपाल विद्युत् प्राधिकरण घाटामा गएको विषय बाहिर आएको भन्दै प्राधिकरणलाई सबल र प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्की (भण्डारी) ले नेपाल राष्ट्र बैंकको गभर्नर पद झण्डै एक महिनादेखि रिक्त रहेको भन्दै चाँडो गभर्नर नियुक्ति गरेर मुलुकको आर्थिक अवस्था र वित्तीय प्रणालीलाई सुधार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनले देशमा आर्थिक समस्या बढिरहेको, सुशासन प्रवर्द्धन हुन नसकेको तथा उत्पादनशील र सेवा क्षेत्र उत्साहित नभएको अवस्थामा गभर्नरजस्तो संवेदनशील विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद विक्रम पाण्डेले बर्सातको समय सुरु हुन लागेको र यस वर्ष विगतको वर्षभन्दा बढी गर्मी हुने र अत्यधिक वर्षा सम्भावना रहेको मौसमविद्हरूले पूर्वानुमान गरिरहेका भन्दै समयमा सम्भावित जोखिम व्यवस्थापनको तयारी थाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले आकस्मिक राहत सामग्रीको ढुवानी र उद्धार कार्यलाई चुस्त दुरुस्त बनाउन विपद् व्यवस्थापनलाई सबल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले वरिष्ठ वामपन्थी नेताको दुःखद् निदनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदन प्रकट गरे । उनले सुशासन प्रवर्द्धन र विकासलाई तीव्रता दिन सरकारले ढिलो गर्न नहुने धारणा राखे । नागरिकको कष्टकर जीवनलाई ध्यान दिँदै बुटवल–नारायणगढ खण्ड यथाशीघ्र निर्माण सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट