काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकार सिंगो नेपाललाई नै निरोगी नेपाल बनाउने संकल्पसहित अघि बढिरहेको बताए । उनले नेपालमा कोही पनि रोगी हुँदै नहोस्, बिरामी नहोस् भन्नका लागि रोग लाग्ने परिस्थिति र अवस्था आउनै नदिने अवस्था बनाउन जरुरी रहेको बताए। उनले रोग लाग्नै नदिनको लागि सन्तुलित खानपिन पनि एउटा महत्वपूर्ण विषय रहेको बताए ।
उनले रोग र उपचार प्रकृतिमै निहित रहेको भन्दै कुन कुराबाट के रोग लाग्छ र केबाट निको हुन्छ भन्नेकुराको खोजी गर्न जरुरी रहेको बताए । उनले आयुर्वेदिक उपचार धेरै राम्रो हुने भएपनि पछिल्लो समय कम हुँदै गएको भन्दै गुनासो गरे । उनले आयुर्वेदिक औषधि विज्ञानको प्रक्रियालाई विकास गर्दै अघि बढ्न जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘जुन पनि रोग लाग्छ, त्यसलाई निको पार्नसक्ने कुरा प्रकृतिमै निहित छ । औषधि पनि प्रकृतिमा निहित छ । खानामै निहित छ । यो खालि पत्ता लगाउन जरुरी छ, कुन चिजबाट यो रोग लाग्छ र कुन चिजबाट यो रोगको अन्त्य हुन्छ । यसको प्रयोग परीक्षण गर्न आवश्यक छ । यसमा एलोपेथिक ढंगले निवारणको उपाय पत्ता लागेको छ । तर, आयुर्वेद यसमा इफेक्टिभ छ र उहिलेदेखि आयुर्वेदको पनि सहारा लिने गरेको थियो । अहिले अलिकति कमजोर भएको छ । यसलाई ट्रेडिसनल र आयुर्वेदिक औषधि विज्ञानको प्रोसेसलाई पनि विकास गर्दै, रिसर्च गर्दै उपचार विधिमा जान जरुरी छ । हामी निरोगी नेपालको महासंकल्पमा छौँ । निरोगी नेपाल स्वास्थ्य क्षेत्रको महासंकल्प हो ।’
प्रधानमन्त्री ओलीले कुष्ठरोगलाई नलुकाई समयमै उपचार गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस