काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन्। महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन्।
प्रधानमन्त्री ओलीले खोप लगाएसँगै देशभर ६५ वर्षमाथिका नागरिकका लागि खोप अभियान सुरु भएको छ।
खोप लगाएपछि प्रधानमन्त्री ओलीले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन् । उनले खोप सुरक्षित भएकाले ढुक्कसँग खोप लगाउन समेत सबैलाई आग्रह गरे ।
गृहमन्त्री रामबहादुर थापा बादलले पनि आजै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर खोप लगाएका छन्।
दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो ।
हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने छ ।
यसअघि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख अग्निप्रसाद सापकोटा, नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले खोप लगाइसकेका छन् । भारतबाट खरिद गरेर ल्याइएको कोभिडविरुद्धको ‘कोभिसिल्ड’ खोप नै दोस्रो चरणमा पनि लगाउने भएको हो ।