काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुरुप आ–आफ्नै पार्टीमा रहेर अगाडि बढ्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको सो पक्षका स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकाल्दै अलग अलग रुपमा अघि बढ्न निर्णय गरेको हो । प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमाले र माओवादी अब अलग–अलग रुपमा अघि बढ्ने भएका छौँ । त्यस्तै एमाले भित्र रहेर ओली प्रवृत्तिविरुद्ध लड्न सकिने माधव नेपाल पक्षका नेताहरुले बताएका छन् ।
नेता नेपालले आफूहरूको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताएका छन्। ‘प्रचण्डजी (पुष्पकमल दाहाल) को र हाम्रो पार्टी आजबाट अलग भए पनि हाम्रो मन विशाल छ। हामी सबैलाई समेटेर अघि बढ्छौँ, फरकफरक पार्टीमा रहे पनि वाम एकतालाई जोगाउने प्रयासमा लाग्छौं। सबै वामपन्थी एक हुन्छौं,’ नेता नेपालले भने।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि माधवकुमार नेपाल(झलनाथ खनाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’समूहमा लागेर सडक आन्दोलनमा पुगेका थिए।
सोमबारको बैठकले नेपालका कम्युनिष्टलाई एउटै केन्द्रमा ल्याउने पहलकदमी र प्रक्रियालाई जारी राख्ने निर्णय गरेको प्रवक्त नारायणकाजी श्रेष्ठले बताए । उनले भने,’अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुनसक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीका बीचमा फेरि एकताको पहल भयो भने त्यही ढङ्गले हुनेछ ।’
्