काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिएका छन् ।
मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए । कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तकको प्रकाशन गर्न उनले निर्देशन दिए । समयमै पुस्तक छापेर पहिले दुर्गम ठाउँहरुमा पु¥याउन पनि उनले निर्देशन दिए ।
उनले भने ‘जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पुस्तक विद्यालयमा विद्यार्थीलाई समयमा दिन सकेन भन्ने ढंगको आलोचना धेरै आउने गर्छ । अब यो आलोचना विगतमा जे जस्तो आयो । विगतको मैले ‘पास्ट इज पास्ट’ भनिसकेको छु । वर्तमानमा म यो कमेन्ट सुन्न चाहान्नँ । त्यसको लागि तपाईँहरुलाई के अप्ठ्यारो छ ? पाठ्यक्रमबाट तपाइहरुलाई सामाग्री नआएको हो भने किन ढिला भएको छ तत्काल तपाईँहरु आफैँ पनि पहल गर्नुस् । कुनै पनि पुस्तक छपाइ टाइममा छाप्ने र काठमाडौंमा बसेर त्यो जुम्लाको विकट गाउँको स्कुल सम्झनु ।’
अब नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने जानकारी गराएर मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ कक्षासम्मको पुस्तक प्रकाशन गर्नको लागि निर्देशन दिएका हुन् । त्यसैगरी जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने उनले बताए । कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन आग्रह गरे ।
उनले भने ‘सबै हामीले अहिले हेरेका मेशिनहरु मध्ये निर्वाचन आयोगबाट प्राप्त गरेको मतपत्र छाप्नलाई राखिएको मेशिन त्यसलाई रेडी पोजिशनमा राख्नुस् । निर्वाचन आयोगले आदेश दिन बित्तिकै खररररर मत पत्र छापिने गरेर तयारीमा रहनुस् । कुनैपनि बेला तपाइहरुलाई यो आदेश आउनेछ ।’