२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

काममा ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन

आइतवार , जेठ १२, २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालय र मातहतका कर्मचारीको आज यहाँ बसेको बैठकमा उनले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न सबैलाई निर्देशन दिएका हुन् ।

“मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनैपनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भने । उनले मन्त्रालयअन्तर्गतका निकायबाट उल्लेख्य प्रगति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरेमात्र हामीले लिएका लक्ष्य हासिल गर्न सहज हुने मन्त्रीको भनाइ छ । “कर्मचारीलाई स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरौँ”, उनले भने ।

ऊर्जामन्त्री खड्काले मनसुन सुरु हुन लागेको भन्दै वर्षाबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पुर्याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिए ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहत निकायका कर्मचारीको सहभागिता थियो ।

बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायको वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट