काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक राजनीतिक लडाइँ लड्ने संकल्प गरेका छन् । बिहीबार नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेला सम्बोधनका क्रममा आफू राजनीतिक लडाइँबाट नभाग्ने बताएका हुन् ।
उनले भने, ‘ म छोड्नेवालामा छैन । पुनः एकपटक लड्ने हो । जनयुद्ध सुरु गर्ने बेलामा म ४२ वर्षको थिएँ अहिले ६७ वर्षको भएँ उमेरले कति साथ दिन्छ भन्छन् भन्नेहरुले तर माओत्सेतुङले ७२ वर्षको उमेरमा सांस्कृतिक क्रान्ति गरेका थिए । म फेरि एक चोटि क्रान्तिमा जानेछु ।’
उनले आफू अहिले आफ्नै धरातलमा आइपुगेको र केही समयअघि एउटा ब्याटल जितेको र अरु केही जित्न बाँकी रहेको पनि बताए ।
सर्वोच्च अदालतले नेकपा एकीकरण अवैधानिक भनी पूर्व नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँताएपछि केही पूर्व माओवादी केन्द्रका नेताहरु एमालेमा गएको बारे टिप्पणी गर्दे भने ‘आफ्नै साथीहरु छुट्दा अलि नरमाइलो भने लाग्ने रहेछ ।’
उनले पुनः राजनीतिक लडाइँमा उत्रन साथ र सहयोगका लागि कार्यकर्तासमक्ष अपिल पनि गरे ।