काठमाडौं । सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ ।
समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्तालगायतका मागमा दुई दलबीच छलफल भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार वार्ता सकारात्मक भएको र शुक्रबार पनि कार्यदलस्तरमा वार्ता जारी रहनेछ । एमालेबाट सुवास नेम्वाङ र डा राजन भट्टराई तथा समाजवादीबाट सर्वेन्द्रनाथ शुल्ल र लक्ष्मणलाल कर्ण कार्यदलमा छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आइतबार कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए ।
बिहीबारको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, समाजवादीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका नेताहरु सहभागी थिए ।