काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढी खर्च गरे पनि बजारको मागअनुसार जनशक्ति उत्पादन हुन सकेको छैन । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ । एक दर्जन मन्त्रालयमार्फत प्राविधिक तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालित छन् । तर, उच्च दक्ष ९सीप तह ४० तालिम लिएका जनशक्तिको उत्पादन भने निकै कम छ ।
हाल संघीय तहमा १२ मन्त्रालय र अन्य व्यावसायिक संघ–संस्था तथा निजी क्षेत्रसहित १८ भन्दा बढी निकायबाट वार्षिक दुई लाखभन्दा बढीले छोटो अवधिका व्यावसायिक तालिम लिने गरेका छन् । तरपनि उद्योग–व्यवसायमा दक्ष जनशक्तिको भने अभाव छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले वार्षिक २ लाख १० हजार व्यक्तिले व्यावसायिक तालिम पाएको देखिएको छ ।
चालू आर्थिक वर्षको असारसम्ममा ७५३ स्थानीय तहमध्ये ८४ प्रतिशत अर्थात् ६३५ स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको संस्थागत पहुँच पुगेको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सीटीईभीटीले मात्र ६ अर्ब रुपैयाँभन्दा बढी तालिमका लागि खर्च गरेका छन् ।
सीपको तहगत वितरण पनि सबै विषयगत क्षेत्रहरुमा समान नरहेका कारण बजारको माग र उत्पादनमा असमानता देखिएको छ । कृषि तथा वन क्षेत्रमा कार्यरत जनशक्ति करिब ९० प्रतिशत सीप तह १ का छन् भने स्वास्थ्य र अन्य सेवा क्षेत्र अन्तर्गतका कुनै पनि पेशामा सीप तह १ का जनशक्ति रहेको देखिँदैन ।