काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले पार्टीको नाम परिवर्तन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारि केन्द्रीय कमिटि बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव आएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
बैठकमा पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी या माओवादी भन्ने शब्द नराखी अन्य कुनै नाम राख्नुपर्ने धारणा केन्द्रीय सदस्यहरुले राखेको तर केही नेताहरुले ‘माओवादी’ नामसँग जोडिएको इतिहास भुल्न नहुने बताएको ती सदस्यले जानकारी दिए।
प्रस्ताव आएको भए पनि यहि नै राख्ने भन्ने टुंगो भने नलागेको उनको भनाइ छ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिएको भए पनि एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि एमाले फुटको संघारमा उभिएको छ ।
यसैबीच एमालेका नेपाल–खनाल पक्ष र माओवादी केन्द्र एक भएर जान सक्ने अड्कलबाजीहरु पनि चल्न थालेका छन् । यस्तो बेला माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने भन्ने विषयलाई विशेष चासोका रुपमा हेरिएको छ ।