काठमाडौं । माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।
सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र पार्टी ब्युँताएपछि काठमाडाैंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाईसीएलका सचिव पुष्प ओलीले बताए ।
संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।
बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।